काठमाडौं । “बिहानको त्यस्तै ४ बजेको थियो होला । कानको जाली फुट्ला जस्तो गरी घन्टी बज्यो । कहिलेकाहीँ जर्मनीको पुलिसले चिया लिएर नेपाली कालो टोपी माग्न आउँथ्यो । सोचे कस्तो डन्ठे रैछ मरिजाओस् । बिहानबिहानै किन उठाउनुपर्ने होला । गर्मी थियो, सबै कपडा खोलेर सुतेको थिएँ । रुमाल बेरेर । ढोका खोलेको त, तत्कालीन आधिराजकुमारी शारदा पो ।”
नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जित्ने जीतबहादुर केसीले ५० वर्षअघि जर्मनीको म्युनिखमा सम्पन्न ग्रीष्मकालीन ओलम्पिकमा भएको घटना सम्झिए । केसीले थपे, “बाहिर यसो हेरेको त टिटिल्ल रगत टक्लिएको । म त थुरुरु भइहालेँ ।”
आधा शताब्दीअघि आजकै दिन विश्वलाई स्तब्ध पार्नेगरी भएको घटनाबारे केसीले बाह्रखरीसँग सुनाए ।
५ सेप्टेम्बर १९७२ मा ट्रयाकसुट लगाएका आठजना पुरुष ‘डफेल ब्याग’मा कलस्निकोभ राइफल र ग्रेनेड बोकेर म्युनिखको ओलम्पिक भिलेज छिरेका थिए । उनीहरू ब्ल्याक सेप्टेम्बर समूहसँग आबद्ध थिए । र, ब्ल्याक सेप्टेम्बर प्यालेस्टाइन लिबरल अर्गनाइजेसनसँग आबद्ध थियो ।
उनीहरूको लक्ष्य थियो– इजरायली खेलाडीहरूलाई बन्धक बनाउने र इजरायलमा कैद गरिएको २०० कैदीहरू र पश्चिम जर्मनीमा कैद जर्मनीकै दुई अतिवादीलाई रिहा गर्न माग गर्नु ।
उनीहरूले दुई खेलाडीलाई सुरुमै मारेका थिए । बाँकी ९ जनालाई बन्धक बनाएर राखेका थिए ।
नकाब लगाएका ती आतंककारीहरूले बन्धक कायरो जानका लागि एउटा विमानको माग गरेका थिए । दिनभरिको बार्गेनिङपछि दुई हेलिकप्टर उपलब्ध गराउने सहमति भयो ।
त्यससँगै जर्मन सैनिकले अर्कै योजना बनाइसकेका थिए । तर, जर्मन सैनिकको त्यो योजना दुःखदायी रह्यो । बाँकी ९ खेलाडी र एक पश्चिम जर्मनीका पुलिससहित पाँचजना आतंककारीहरू मारिए । जुन घटनाक्रमलाई प्रत्यक्ष प्रसारण पनि गरिएको थियो ।
त्यस नरसंहारको घटनाले ओलम्पिकको सफलता छायाँमा पारिदियो । अन्तर्राष्ट्रिय समुदायमा आतंकवादबारे नयाँ दृष्टिकोण बनाइदियो । पश्चिमी सरकारहरूलाई आतंकवादको खतरा छ भनेर सजग गरायो । प्रत्यक्ष प्रसारणको शक्ति देखियो । र, भविष्यका लागि सचेत गरायो ।
र, त्यो घटना भएको थियो । नेपाली टोली बसेको घरकै आडैमा । इजरायल र नेपाली टोली ‘बसेको घरलाई चार फुटे गल्ली बाटोले छुट्टाएको थियो ।’
त्यतिबेला नेपाली टोलीमा दुई खेलाडी जीतबहादुर केसी र भक्तबहादुर सापकोटा थिए । अफिसियलमा प्रशिक्षक लक्ष्मणविक्रम शाह, राजा महेन्द्रका छोरीज्वाइँ कुमार खड्गविक्रम शाह, मोहनबहादुर शाही, शोभा, शारदा । सापकोटा र केसी दुवै म्याराथनका खेलाडी थिए ।
इजरायली टिम बसेको घर नजिकै भएकाले केसीलाई त्यो कहालीलाग्दो रातको अझै पनि राम्रो सम्झना छ ।
“राति एक बजेतिर हो, पड्किएको । त्यो दिन निद्रा लागेको थिएन । यत्तिकै बसिरहेको थिए । डडम्म पड्कियो । कोठा नै जुरुक्कै भए जस्तो भो । दस मिनेट पछि फेरि त्यस्तै आवाजमा पड्कियो । तल टेबलटेनिसलगायत खेल खेल्ने ठाउँ थियो । के सारो आवाज आउनेगरी खेलेका होलान् बज्जियाहरू... यति राति,” केसी सम्झिन्छन्, “दुध खाएर यसो ढल्किएको त्यसै निदाएछु ।”
भोलिपल्ट बिहान अधिराजकुमारी शारदाले केसीलाई उठाएकी थिइन् । कानको जाली फुट्लाजस्तो गरी घन्टी शारदाले नै बजाएकी थिइन् ।
केसी भन्छन्, “दुई जनालाई मारिसकेका रहेछन् । बाँकी ९ जनालाई पाता फर्काएर बाँधेर राखेको रहेछ । त्यसपछि त थुरुरु भैगयो नि ! हत्त न पत्त ट्र्याकसुट लगाएर भाग्यौँ । बाहिर निस्किएको सबै आर्मीले घेरिसकेको रहेछ । मान्छेको भिड । राजा रजौटा जम्मा भएका थिए । दिनभरि विभिन्न छलफल भए । कसैले के भने कसैले के भने ।”
मारिएका खेलाडीको सम्झनामा २४ घण्टाका लागि ओलम्पिक स्थगित गरिएको थियो । तर, रद्द भएन । पुनः सुरु भयो । नेपाली टोली त्यही अपार्टमेन्टमा बस्यो ।
केसी र सापकोटालाई म्याराथनको भन्दा ज्यानको चिन्ताले सताउन थाल्यो । केसी भन्छन्, “झ्यालको सिसा घरक्क गर्दा पनि सातै जाने ।”
त्यसको केही दिनपछि म्याराथन भयो । केसीलाई खुट्टाले साथ नदिएपछि उनले अन्तिम अवस्थामा दौड पूरा गर्न सकेनन् । सापकोटाले भने दौड पूरा गरे ।
आज उक्त घटनाको ५० वर्ष पूरा भएको छ । उक्त घटनामा ज्यान गुमाउने खेलाडीका परिवारलाई जर्मन सरकारले क्षतिपूर्तिस्वरूप दुई करोड ८० युरो दिने सहमति भएको छ ।
सुरुमा दुई पक्षबीच सहमति भइसकेको थिएन । खेलाडीका परिवारले ५०औँ सम्झना दिवसमा गरिने कार्यक्रम बहिष्कार गर्नेसम्म बताएका थिए । तर, अन्ततः दुई पक्षबीच सहमति भएको छ ।