site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
काव्य साहित्यका उपविधाको भविष्य
Sarbottam CementSarbottam Cement

शब्दकोशअनुसार साहित्य भन्नाले जीवन–जगत्सँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रूप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रचिने हृदयस्पर्शी लेख, रचना र ग्रन्थ आदिलाई बुझिन्छ ।

यसैगरी, अर्को अर्थमा इतिहास, पुराण, पूराकथा वा समाज आदिबाट उपजीव्य वस्तु लिएर रस, छन्द, अलंकार आदिले यथासम्भव सजाई रचिएको गद्य वा पद्यकृति, काल्पनिक र भावुकतापूर्ण पद्यमय वा गद्यमय रचना (कविता, खण्डकाव्य, महाकाव्य, नाटक, कथा, उपन्यास आदि)लाई बुझिन्छ ।

यद्यपि, यसको लेख्य स्वरूप पछि मात्र आएको हो । तर, साहित्य मानव सभ्यताजत्तिकै पुरानो छ । साहित्यका चार विधा सर्वविदित छन् । काव्य, आख्यान, निबन्ध र नाटक । यीमध्ये धेरै लेखिने र पढिने विधा काव्य हो । यी विधाका पनि उपविधा छन् । र, उपविधामा पनि काव्य साहित्यकै उपविधाको संख्या बढी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली काव्य साहित्य पनि उपविधाको धनी छ । पछिल्लो समय त नेपाली काव्य साहित्यमा यति धेरै उपविधाको जन्म भएको छ कि यसले साहित्यमा रुचि राख्ने, साहित्यका अध्येता र भाषा विद्वान्सँगसँगै नेपाल प्रज्ञा–प्रतिष्ठानको समेत ध्यानाकर्षण गर्न सफल भएको छ ।

लघुतम कविताका रूपमा आएका यस्ता उपविधामध्ये कतिपयका सैद्धान्तिक आधार र अवधारणाहरू सार्वजनिक भइसकेका र परिष्कारको क्रममा छन् भने कतिपयका तयार हुँदै छन् ।

Global Ime bank

यसै सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठान काव्य विभागद्वारा गएको साउन २० गते नेपाली कविताका लघुतम उपविधाबारे एक विमर्श कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सहप्राध्यापक डा.यज्ञेश्वर निरौलाले ‘नेपाली कविताका लघुतम उपविधा’ शीर्षकमाथि कार्यपत्र प्रस्तुत गर्नुभयो ।

कार्यपत्रअनुसार मुक्तक, हाइकु, सिजो, ताङ्का, सेनर्यु÷सेन्यु, सेदोका, रुबाई, एलाक, साइनो, कोपिला, बाछिटा, सुसेली, उदक, खोरिया, क्रिमुक, झर, छेस्का, तप्कना, पिरामिड, रम्बास, टुक्का कविता, छोक, कूट पद्य, सायरी, दोहा, सोरठा, चौपाई, आल्हा, पूरबी, केस्रा, खिचडी, युग्मक, आगो, शीत, तियाली र पञ्चाङ्ग समेत कुल ३६ वटा उपविधा मानिएको छ र यस विषयमा उदाहरणसहित संक्षिप्त जानकारी पनि गराइएको छ ।

डा. निरौलाले उपविधाहरू आउनुलाई सकारात्मक ठानेका छन् । यसले साहित्यको विकासमा टेवा नै पुर्याउने उनको तर्क छ । कार्यपत्रमाथि गरिएको टिप्पणी सुन्दा सकारात्मक–नकारात्मक दुवै भाव भेटिए ।

टिप्पणीको क्रमपछि केहीले छुटेका उपविधा पनि समावेश गरेर यथाशक्य सम्पूर्ण उपविधा समेट्न सुझाव दिएका थिए भने केहीले टिप्पणीकारका टिप्पणी र त्यसमा प्रयुक्त भाषाशैलीमाथि नै प्रश्न उठाएको पनि देखियो ।

खैर, हरेक कुरामा समय–समयमा परिवर्तन आउँछ भने विद्वान्, बुद्धिजीवीहरू र सचेत वर्ग संलग्न हुने साहित्यमा समयानुकूल परिमार्जन, सुधार एवं नयाँ–नयाँ अवधारणा र शैलीको विकास हुनु स्वाभाविक हो । तर, कतिपय विद्वान्, बुद्धिजीवी र सचेत भनिएको वर्ग नै नयाँ उपविधाप्रति असहिष्णु देखिएका छन् । नयाँ उपविधाप्रति व्यंग्य गर्ने, यी पानीका फोकाजस्तै हुन् वा केही वा खास व्यक्तिका प्रवर्तक बन्ने लालसाले जन्मेका लेखनलाई उपविधा नै भन्नु नहुनेजस्ता धारणा पनि उनीहरूको रहेको छ ।

खासगरी यथास्थितिवादीहरू जसले परिवर्तनलाई स्वीकार गर्न सक्दैनन्, चलिरहेको नै सबथोक हो र योभन्दा अर्को हुन सक्दैन अनि आफूले जे जानेको छ, त्योभन्दा अरू सबै गलत र अनुचित भन्ने ठान्छन् । तिनले नयाँ शैलीका लेखनप्रति नकारात्मक धारणा राख्ने र नकारात्मक टिकाटिप्पणी गर्ने गरेका छन् ।

सोही विमर्श कार्यक्रममा पनि एक टिप्पणीकारले उपविधाहरूका बारेमा प्रज्ञा–प्रतिष्ठानले देखाएको चासोलाई नै अनुचित ठान्नु र अनावश्यक प्राथमिकतामा राखेको भन्दै असन्तुष्टि पोख्नु त्यसैको उदाहरण हो ।

के लेखनमा नयाँ शैली आउनु वा नयाँ–नयाँ स्वरूपमा साहित्य सिर्जना गर्नु गलत हो ? पक्कै होइन । सबैले महाकाव्य, खण्डकाव्य लेख्न सक्दैनन् । नयाँ शैलीका लेखनको विरोध गर्नेहरू पनि लघुरचनामा रमाइरहेको देखिएकै छ ।

सबैसँग उस्तै क्षमता पनि हुँदैन । जसले जे सक्छ, त्यही लेख्ने हो । सबैले सबै विधाका साहित्य सिर्जना गर्न सक्दैनन् । सबै देवकोटा र मैनाली हुन सक्दैनन् । कसैले कविता–काव्य कसैले आख्यान–उपन्यास, कथा, लघुकथा लेख्ला, कसैले नाटक लेख्ला, कसैले निबन्ध लेख्ला । त्यो आ–आफ्नो रुचि र खुबीको कुरा हो ।

समयले प्रविधिलाई अँगालेको छ र प्रविधिमैत्री लेखन आजको आवश्यकता मात्र होइन, अपरिहार्यता पनि हो । अहिले मानिस व्यस्त पनि हुँदै गएका छन् । जीवनयापन कठिन हुँदै गएको र समयको अधिकाधिक सदुपयोग गर्ने मानिसका चाहना र कतिपय अवस्थामा बाध्यता पनि भइरहेको छ ।

अनि, मानिसका आ–आफ्ना जिम्मेवारी त हुन्छन् नै, तिनबाट पर रहन सकिँदैन । यस्तो समयमा लामा–लामा रचना पढ्ने, लेख्ने समय जुटाउन गाह्रो पनि हुन्छ । यसले साहित्यका पाठकको संख्या घट्दै गएको छ ।

त्यस्ता व्यस्त र बेफुर्सदिला पाठकले पनि साहित्य पढ्न पाउनुपर्छ र समय नभएका पाठकलाई उपयोगी हुने छोटा अर्थात् लघुआकारका रचना पनि लेखिनुपर्ने कुरा अनिवार्य भइसकेको छ ।

पाठक मात्र होइन, लेखनमा रुचि भएकाहरू नै पनि फुर्सद नभएका कारण आफूसँग भएको लेखन क्षमता प्रदर्शन गर्न असमर्थ भइरहेको अवस्था पनि छ । यसकारण पनि छोटा खालका रचनाहरू प्रिय भइरहेका छन् । तिनका पाठक र लेखकको संख्या बढ्दो छ । छोटा अर्थात् लघुआकारका रचना सामाजिक सञ्जालमैत्री भएका छन्, जुन आजको अपरिहार्यता हो ।

आकारमा साना हुँदैमा ती लेख्न सजिला र भावमा कमजोर हुन्छन् भन्ने सोच्नु मूर्खता मात्र हो । तिनले बोक्ने भाव र दिने झट्का ठूला–ठूला रचनाका घुमाउरा कुराले दिन नसक्ने हुन्छ । यस्तो यथार्थलाई नबुझे÷नजानेझैँ लघुरचनाहरूप्रति नकारात्मक धारणा बनाउनु बौद्धिक दरिद्रता मात्र हो ।

हामी सबै जानकार छौँ, आज हरेक व्यक्ति सूचनाको स्रोत बनेको छ । हरेक व्यक्ति सम्पादक बनेको छ । स्तरीय वा भाषाशैलीको कुरा भिन्नै हो । सामाजिक सञ्जालले सर्जकहरूको संख्या बढाउन मात्र होइन, भाषा र साहित्यको विकासमा समेत ठूलो सहयोग गरेको छ ।

यद्यपि, भाषामा आएका विकृतिको आफ्नै पक्ष छ । तर पनि सामाजिक सञ्जालले यस क्षेत्रमा क्रान्ति नै ल्याएको कुरालाई स्वीकार गर्नैपर्छ ।

कतिपय कथित बुद्धिजीवी, समीक्षक र टिप्पणीकारहरू नै पनि आरोप लगाइरहेका छन् कि यस्तो लेखनको औचित्य छैन, यिनले साहित्यको बद्नाम गरिरहेका छन् । कतिपयचाहिँ तिनकै बोलीमा लोली मिलाइरहेका छन् ।

नबुझेको कुरो, अरूको शैली सिको गरेर लेख्न तयार हुने, आफ्नै माटोमा जन्मेका नयाँ र लघुतम उपविधाहरूलाई अस्वीकार गर्ने किन ? के यो चरित्र आफैँमा विरोधाभास होइन ?

समयको कालखण्डमा साहित्य लेखनमा विभिन्न आन्दोलन र प्रयोग भएका छन् । पछिल्लो समय प्रयोगमा आइरहेका विभिन्न उपविधाहरूका सन्दर्भमा पनि तिनको गुणवत्ताको कुरा, तिनमा साहित्यका चरित्र वा गुण छन् कि छैनन्, तिनका विशेषता के हुन् र ती कुन र के कस्ता कारणले साहित्य हुन् भन्ने कुराको खोजी हुनु आजको आवश्यकता हो, न कि तिनलाई निमोठ्ने वा कुल्चने धृष्टता ।

अन्त्यमा, भाषा, साहित्य र संस्कृतिको पक्षमा काम गरिरहेको नेपाल प्रज्ञा–प्रतिष्ठानले काव्य साहित्यका उपविधाबारे चासो राख्नु र तिनका बारेमा विमर्श चलाउनु आफैँमा अत्यन्त सकारात्मक कुरा हो । प्रतिष्ठान नेतृत्व र काव्य विभागले नेपाली साहित्यमा देखापरेका उपविधाप्रति देखाएको चासो अत्यन्त सराहनीय र सान्दर्भिक छ ।

यसका लागि सिंगो प्रज्ञा–प्रतिष्ठान धन्यवादको पात्र छ । तर, सुझाव–सल्लाह लिनुपर्ने अवस्था आउँदा र त्यस किसिमको आवश्यकता पर्दा परम्परागत शैलीभन्दा माथि उठ्न नसक्ने संकुचित मानसिकताका यथास्थितिवादीहरूलाई भन्दा परिवर्तनलाई स्वीकार, आत्मसात् गर्न सक्नेहरूलाई प्राथमिकतामा राखी तीसँग सरसल्लाह लिने गर्दा राम्रो देखिन्छ । र, त्यसैअनुरूप निर्णय लिनेतर्फ प्रतिष्ठान नेतृत्वले ध्यान दिन सकेमा नेपाली साहित्यमा नयाँ शैलीका मौलिक लेखनले उचाइ लिने र नेपाली साहित्यको श्रीवृद्धिमा सघाउ पुर्याउन सक्ने कुरामा कुनै दुईमत हुन सक्दैन ।

सैद्धान्तिक आधारहरू तयार गरी साहित्यिक गुणले युक्त रचना गर्दै जान सकेमा लघुआकारका उपविधाले नेपाली साहित्यको भन्डारलाई धनी बनाउने भएकाले लघुतम उपविधाका क्षेत्रमा सक्रिय स्रष्टाहरूले त्यसतर्फ ध्यान दिँदै आफूलाई अझ सक्रिय गराउनु जरुरी देखिएको छ ।

यिनका विरोधमा उभ्भिनेहरूलाई स्तरीय रचनाबाटै जवाफ दिन सकिने भएकाले त्यसका लागि प्रयत्न गर्नु आजको आवश्यकता हो । यसमै यी उपविधाको भविष्य निर्भर छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  ०५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय