काठमाडौं । नेकपा एमालेले पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ ।
शनिबार सम्पन्न केन्दीय कमिटीको चौथो बैठकले आसन्न निर्वाचनपछि ओलीलाई प्रधानमन्त्री बनाउन मतदातामाझ बहुमतको आह्वान गर्ने निर्णय गरेको छ ।
दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित हुँदा दुईपटक संसद् विघटनको निर्णयले ओलीलाई चुनावमा अप्ठेरो पार्न सक्ने विश्लेषण भइरहेको छ । त्यस्तै नेकपा मात्र नभएर एमालेसमेत विभाजन भएको र सत्ता गठबन्धनमा पाँच दल रहेको अवस्थामा एमालेले बहुमत ल्याउने तयारीस्वरुप ओलीलाई अघि सारेको छ ।
एमालेले भावी प्रधानमन्त्रीको उमेदवारको रुपमा प्रस्तुत गरेका ओलीको निर्वाचन क्षेत्रको अवस्था चाहिँ कस्तो छ त ?
ओलीको निर्वाचन क्षेत्र झापा–५ हो । यस निर्वाचन क्षेत्रमा दमक नगरपालिका, कमल गाउँपालिकाका तथा गौरादह नगरपालिका ९ नम्बरबाहेकका वडा र गौरीगञ्ज गाउँपालिकाका १ र २ नम्बरबाहेकका वडाहरू पर्दछन् ।
ओलीले २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा ५७ हजार १३९ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए ।
०७४ को निर्वाचनमा वाम गठबन्धनमार्फत् चुनावमा गएका ओलीलाई राप्रपाले साथ दिएको थियो । राप्रपाले ओलीलाई सघाएवापत् झापा क्षेत्र नम्बर ३ मा तत्कालीन गठबन्धनले राप्रपा हालका अध्यक्ष राजेन्द्र लिङ्देनलाई मत दिएको थियो ।
गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा एमालेले प्राप्त गरेको वडागत मत हेर्दा ४० हजार ३६१ मत पाएको छ । उक्त निर्वाचनमा एमालेले ओलीको गृहनगर दमक नगरपालिका प्रमुख/उपप्रमुख दुवै पद गुमाएको छ । त्यस्तै कमल गाउँपालिका,गौरीगञ्ज गाउँ पालिकाको नेतृत्व पनि एमालेले गुमायो ।
तीन–तीनवटा स्थानीय तहको नेतृत्व गुमाउँदासमेत वडा तहमा एमालेले पाएको मत हेर्दा यो निर्वाचन क्षेत्रमा एमाले बलियो अवस्थामै छ । तर निर्णायक भने साना दल र राप्रपा देखिन्छ ।
सत्ता गठबन्धन, एमालेको घट्दो लोकप्रियताका कारण पनि साना दल र राप्रपा नै निर्णायक शक्ति रहेको देखिन्छ ।
यस निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनमा रहेको दल कांग्रेसको २२ हजार २२, माओवादी केन्द्रको १० हजार ७७८ मत देखिन्छ । त्यस्तै एमालेबाट विभाजित दल नेकपा (एकिकृत समाजवादी) ले वडागत रुपमा भने २ हजार १५ मत पाएको थियो ।
गठबन्धनमा रहेका यी दलहरुले पाएको मत जोड्दा ३४ हजार ८१५ मात्रै छ । यसरी हेर्दा वडागत रुपमा गठबन्धन भन्दा एमालेले ५ हजार ५४६ मत बढी पाएको छ ।
राप्रपासहितका अन्य दल र स्वतन्त्र निर्णायक
यो निर्वाचन क्षेत्रमा राप्रपाले वडागत रुपमा ८ हजार ३५३ मत पाएको छ ।
राप्रपाले एमालेलाई सघाए ४८ हजार ७१४ मत एमालेको पक्षमा हुने देखिन्छ । यस्तो अवस्थामा ओलीलाई निकै सहज हुने देखिन्छ । राप्रपाले गठबन्धनलाई साथ दिएमा गठबन्धन एमालेभन्दा अघि हुने स्थानीय निर्वाचनको तथ्यांकले देखाउँछ ।
त्यस्तै यहाँ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक हजार ७५४, राष्ट्रिय जनमुक्ति पार्टीसँग ६८, मंगोल नेशनल अर्गनाइजेशनसँग २८४, विवेकशील साझा पार्टीसँग ६८ मत रहेको देखिन्छ ।
यस्तै उन्नत लोकतान्त्रिक पार्टीसँग ९, जनमत पार्टीसँग ८३०, लोकतान्त्रिक समाजवादी पार्टीसँग १११ र नेपाली जनता दलसँग २६ मत छ । यी सबै साना दलहरूसँगको कुल मत तीन हजार १५० छ ।
झापा क्षेत्र नम्बर ५ मा रहेका पालिकाबाट स्वतन्त्र उमेदवारहरूले कुल ३ हजार ४७१ मत ल्याएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ ।
स्थानीय निर्वाचनको मतले एमाले गठबन्धन दलभन्दा ५ हजार बढी मतल अघि भए पनि प्रतिनिधिसभाको निर्वाचनमा राप्रपासहितका अन्य दल र स्वतन्त्र निर्णायक देखिन्छन् ।
राप्रप्रासहितका अन्य र स्वतन्त्रको मत हेर्ने भने उनीहरुसँग १४ हजार ९४७ मत छ ।
राप्रपाले के गर्छ ?
अघिल्लो निर्वाचनमा सहकार्य गरेका ओली र लिङ्देनले यसपटक पनि सहकार्य चाहेका छन् । आसन्न मंसिर ४ मा हुने निर्वाचनमा सहकार्यका लागि प्रस्ताव राखिसकेका छन् ।
ओली र लिङ्देनबीच चरणबद्ध रुपमा छलफल समेत भइरहेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ दुई पार्टीबीच चुनावी तालमेलको सम्भावना प्रवल रहेको बताउँछन् ।
“तालमेल र सहकार्यको सम्भावना छ । सकारात्मक रुपमा वार्ता संवाद अघि बढिरहेको छ । चुनावी सहकार्यबारे विभिन्न मोडेलमा छलफल जारी छ,” श्रेष्ठ भन्छन् ।
उनका अनुसार एमालेसँग तालमेल भए झापामामात्रै नभएर अन्यत्र पनि हुनेछ । राप्रपाले चुनावी तालमेल र सहकार्यको जिम्मा अध्यक्ष लिङ्देनलाई दिएको छ । केही समयमा नै त्यसबारे निर्णय लिइने उनले जानकारी दिए ।