काठमाडौं । कप्तान बेन स्टोक्सको अलराउन्ड प्रदर्शनप्रेरित इंग्ल्यान्डले शनिबार दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्ट मा एक इनिङ्स र ८५ रनको विजय हासिल गरेको छ ।
लड्समा सम्पन्न पहिलो खेलमा इंग्ल्यान्ड एक इनिङ्स र १२ रनले पराजित भएको थियो । उक्त हारको बदला इंग्ल्यान्डले म्यानचेस्टरमा लिन सफल भएको हो । योसँगै तीन खेलको टेस्ट शृंखलामा १–१ को बराबरी भएको छ ।
ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा १५१ रन बनाउँदा सबै विकेट गुमाएको थियो । त्यसपछि ब्याटिङ गरेको इंग्ल्यान्डले दोस्रो दिन नौ विकेट गुमाएर ४१५ रन बनाउँदा पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।
२६४ रनले पछि परेको पाहुना टोली दक्षिण अफ्रिकाले २३/० को स्थितिबाट तेस्रो दिनको सुरुआत गरेको थियो । तेस्रो दिन १७९ रन जोड्दा दक्षिण अप्रिकाले सबै विकेट गुमायो । दक्षिण अफ्रिकाका लागि किगन पिटरसनले ४२, रसी भान डेर डुसानले ४१ रन बनाउनुबाहेक अरू खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
इंग्ल्यान्डका ओली रोबिन्सनले चार विकेट लिए । जेम्स एन्डरसनले तीन, बेन स्टोक्सले दुई र स्टुवार्ट ब्रोडले एक विकेट लिए ।
पहिलो इनिङ्समा पनि एन्डरसन र ब्रोडले समान तीन विकेट लिएका थिए । स्टोक्सले दुई तथा रोबिन्सन र ज्याक लीचले एक/एक विकेट लिएका थिए ।
इंग्ल्यान्डका स्टोक्सले १०३ रन बनाए । बेन फोक्स ११३ रनमा अविजित रहे । जोनी बेयरिस्टोले ४९ रन, ज्याक क्राउलेले ३८ रन जोडे । ओली पोपले २३, ब्रोडले २१ र रोबिन्सनले १७ रन बनाए ।
दक्षिण अफ्रिका एनरिच नोट्जेले तीन विकेट लिए । कागिसो राबडा र केशब महाराजले समान दुई विकेट लिए । सिमोन हार्मर र लुनगी एनगिडीले एक/एक विकेट लिए ।