site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
तिर्न नसकेको त्यो पाँच रुपैयाँ 
Sarbottam CementSarbottam Cement

मेरा पाँच औँला बटारिएको मुट्ठीमा पाँचकै नोट कच्याककुचुक भएको थियो ।

त्यही पाँचको नोटले हत्केला भरिनुपूर्वको मानसिक अवस्था भने असहज थियो । शब्दमा वर्णन गर्न पनि सकसपूर्ण ! तथापि, वर्णन गर्ने प्रयास हो । किनभने, त्यो पाँचको नोट आजसम्म फिर्ता गर्न सकेको छैन ।

घनघोर मानसिक द्वन्द्वमा थिएँ । जिरोमाइलदेखि बाह्रबिघासम्मको पैदलयात्रामा दिमाग फिरकिन्नी घुमेझैँ भएको थियो । नौनी बन्ने गरी मथिएको थियो होला, मगज !

Prabhu Bank
Agni Group
NIC Asia

मगज आफ्नै वेगमा सक्रिय थियो । पैसा कसरी माग्ने ? यही सोचेर पनि मथिंगल नाचिरहेको थियो । मगजको त्यो नृत्यकला अहिले पनि मेरो सम्झनामा छ ।

खल्तीमा पैसा थिएन । जसोतसो जनकपुरसम्म आइपुगेको थिएँ, जलेश्वरबाट । पैसा भए रिक्सा चढेरै ठाउँमा पुग्थेँ होला । तर, रिक्सा चढ्ने अवस्था थिएन । २५–५० पैसा पनि नभएको त्यो क्षण । त्यसैले पैदलको विकल्प थिएन ।

Global Ime bank

जिरोमाइलदेखि २०–२५ मिनेटको यो हिँडाइमा मथिंगलले पैसा कसरी माग्ने भन्ने मात्र सोचिरह्यो ।

जनकपुरको त्यो उखरमाउलो गर्मी । त्यसमाथि पैदल हिँडाइ । तरतरी पसिना चुहिनु स्वाभाविक थियो । पसिना चुहाउँदै पेठियाबजारतिर लागेँ ।

मलाई एक्लै पसिनाले तरबदरिएको देखेर एउटा रिक्सावालाले भन्यो, ‘ए...! रिक्सा...? ....कत जेबै बौवा ?’

रिक्सा हेर्न पैसा लाग्थेन । त्यसैले रिक्सातिर हेरेँ ! सायद मेरो ज्यान पसिनाले भिजेको देखेर होला, ‘चढी पो हाल्छ कि’ भन्ने उसले ठानेको ।

तर, गर्मीले भन्दा पैसा माग्ने कसरी, त्यो रनाहाले मेरो पसिना धेरै चुहिँदै थियो । पैसा आवश्यक थियो । त्यही आवश्यकताले डर पनि पैदा गरेको थियो । यस्तो पनि हुन्छ र !

त्यसैले म पसिना चुहाउँदै हिँडिरहेँ । मथिंगलले आफ्नै गतिमा नाच्दै अनेक भूमिका तयार गर्दै गयो ।

मेरो मनस्थिति त्यसबखत कुनै फिल्मको स्क्रिप्ट राइटरको भन्दा कम थिएन । कुन समयमा कुन शब्द कसरी उच्चारण गरेर त्यो क्षणलाई उपलब्धिमूलक बनाउने ।

बाटोभरि मतर्फको संवादहरूको निर्माण भइरहेको थियो । (निरन्तर संवाद लेख्दै गएको भए आज फिल्मी संवाद लेखकका रूपमा दर्ता हुन्थेँ कि !) करिब साढे चार दशकअघि फिल्मी संवादका विषयमा कुनै जानकारी नभए पनि बाटोभरि संवाद निर्माण गर्दै हिँड्दै थिएँ । त्यस्तो समयमा पनि संवाद कहाँबाट जन्मिरहेको थियो कुन्नि !

सायद गुलसन नन्दा, रानु, मनोजका पपुलर उपन्यासहरूबाट उधारो लिँदै थिएँ ।

डर कम थिएन । संवाद वास्तविकतानिकट भएता पनि त्यो नाटकीयजस्तो देखिएको खण्डमा मेरो हुर्मत लिने अवस्था सिर्जना हुनसक्थ्यो । मेरो पोल खुलेर छताछुल्ल हुन सक्थ्यो । मेरा लागि त्यो सबैभन्दा लाजमर्दो स्थिति हुनसक्थ्यो ।

यस्तो सिचुएसनमा मेरो अभिनय दिलीप कुमारजस्तै बेजोड र गिरिश कर्नाडजस्तो वास्तविक हुनु आवश्यक थियो ।

‘है बगलके...!’ कानमा कराउँदै घण्टी बजाएर एउटा रिक्सा मेरो छेउबाटै चिप्लियो । म झस्किएँ । राम मन्दिरको पछिल्तिरबाट जानकी मन्दिर निस्किने साँघुरो बाटोमा पुगिसकेको थिएँ ।

राम मन्दिर दर्शन गरेँ कि गरिनँ, सम्झना छैन । तर, जानकी मन्दिरको ढोकै अगाडि उभिएर शिर निहुराएँ । र, आशीर्वाद मागँे, सबै सहज होस् भनेर ।

बढ्दो पाइलासँगै सोच्न थालेँ– पैसा उच्चारण हुनासाथ उहाँका तर्फबाट प्रश्नको ओइरो लाग्न सक्छ । यो आकलन मात्र हो । नहुन पनि सक्छ । तर, भए बमका धमाका जस्ता सवालहरूका अगाडि म खलखली पसिना निकाल्दै अवाक् हुन्छु होला ।

मसँग अरू बनिबनाउ जवाफ पनि छैन कि मैले त्यहाँ तर्कपूर्ण जवाफ दिन सकूँ । मैले बाटोभरि पैसा कसरी माग्ने भन्ने विषयको भूमिका मात्र तयार गरिरहँे । त्यहाँ आउन सक्ने प्रश्नहरूको जवाफ खोजिनँ ।

मलाई त भूमिका मात्र बनाउनु थियो । उताबाट आउने प्रश्नतिर कहाँ ध्यान थियो र ! यदि, केही अप्रत्यासित भइहाले म आफ्नै आँखामा गिर्नुको अलावा अरू के नै हुन सक्ने थियो र । यसअर्थमा म आफ्नो खुट्टामा आफैँ बन्चरो हान्ने प्रयत्न गरिरहेको थिएँ त्यसो भए ? यहीभन्दा पनि त हुन्छ होला ।

सायद अरू विषयमा मेरो गिदी चलिरहेकै थिएन । तत्काल मेरो आवश्यकता तीन रुपैयाँको मात्र थियो, बाँकी केही थिएन । यद्यपि, तीन रुपैयाँका लागि तीस प्रश्न पनि ओइरिन सक्थ्यो ।

तर, त्यसतर्फ मेरो सोच्ने शक्ति पुगेन (सायद सोच्ने उमेर पनि थिएन । १४ बर्से केटोले के सोचोस् !)

यसरी नै बाह्रबिघासम्मको बाटो बित्यो, तीन रुपैयाँको भूमिकामा ।

अब, जब उहाँका अगाडि मेरो माग राखिएको छ, त्यसपछि मेरो शरीर शिथिल भएर गएको छ । के भन्ने ? के गर्ने ? कसरी त्यो सिचुएसनलाई ह्यान्डल गर्ने ? कि चारैतिर हेर्दै बीचमा खाली ठाउँ खोजेर सिनेमाका कमजोर भिलेनहरू भागेजस्तै भाग्ने ?

तर, त्यो पनि गर्न सक्ने आँट ममा छैन । शरीर पूरा शिथिल भएर गएको छ । ज्यान गलेको छ ।

गजबकै रहेछ यो पैसा भन्ने वस्तु । दिलजान भन्थ्यो, ‘जो ना करे बाबु भैया, वो करे रुपैयाँ ।’

दिलजानकै भनाइ मनन गर्ने हो भने थाहा हुन्छ, बाबु भैयाले गर्न नसकेको काम पनि नगद नारायणले सार्थक तुल्याउँछ भन्ने ।

त्यतिखेर पनि नगद नारायणको खेतीमा सर्वदा यस्तै गहन जानकारी राख्ने दिलजानको मुद्रासँगको सम्बन्ध अहिले कस्तो होला ? यतिखेर हठात् मैले दिलजानलाई सम्झिन पुगेँ ।

चालीस वर्ष बितिसकेको छ, दिलजानसँग सम्पर्क नभएको । ऊ कहाँ छ, के गर्छ, थाहा छैन ।

मुद्रा अर्थात् पैसाको ‘खेती’ त्यसबखत सुरु गरिसकेको थिइनँ । बेला भएकै थिएन । आमाको होटेल र पिताजीको लज पनि मेरा लागि सुलभ थिएन । कारण, आमाबुवासँग धेरै बस्तै बसिएन ।

बसाइ कहिले कहाँ त कहिले कहाँ । कहिले मेसको भोजन र होस्टेलको सुताइ । कहिले होटेलको भोजन अनि घरको सुताइ । कहिले सिरहा भलुवाही त कहिले महोत्तरी जलेश्वर । बस्, यसरी नै चलेको थियो समय ।

पिताजीले मासिक निश्चित रकम पठाउँथे । त्यो पनि मेरो नाममा होइन, स्कुलका हेडसरको नाममा । यदाकदा हेडसर मलाई एक–दुई रुपैयाँ दिन्थे । पकेट खर्च त्यही नै थियो ।

दुई–चार दिनलाई मुरही, घुगनी, कचरी, कच र छोलाका परिकार किनेर खान भ्याइन्थ्यो । स्कुलबाहिरको सानो खाजा पसलमा नास्ता खान्थेँ ।

दुई–चार दिनपछि होस्टेलमा सिरानमाथि राखिएको जस्तापाताको बाकसमा गुम्सिएको चिउरा र चिनीले जलखै टार्नुपर्दथ्यो । कोठाकै कोही साथी गाउँबाट ल्याएको शुद्ध घिउ, चिउरा र चिनी चपाउँथे, कुरुमकुरुम आवाज बाहिर सुनिने गरी । लोकल घिउको बास्ना कोठामा रुम फ्रेस्नरझैँ फैलिन्थ्यो ।

आफू भने निल्न सजिलो होस् भनेर चापा कलको पानीले चिउरा भिजाउँथे । र, चिनीको गुलियो साथ लगाएर निल्थेँ ।

‘कभि किसिको मुकम्मल जहाँ नही मिलता...’ महसुर सायर निदा फाजलीको यो गजल धेरैपछि आएर मात्र सुनेँ । त्यस बेला सुनेको भए सायद त्यही गुनगुनाउँथेँ होला । आफूले चाहेको सबै कुरा पुग्दैन भन्ने दिव्यज्ञान त्यही समयमा प्राप्त हुन्थ्यो होला ।

अर्थात्, अर्काले खाएको घिउ–चिउराले जिब्रो रसाए पनि तत्कालका लागि कुनै उपचार थिएन । उपचार भिजेको चिउरा मात्र त हो ।

त्यस अवस्थामा एक–दुई रुपैयाँ पकेट खर्च पाउनु पनि चिट्ठा परेभन्दा बढी हुन्थ्यो । कहिलेकाहीँ त्यो पनि बचाउने प्रयास गरिन्थ्यो । कारण हुन्थ्यो, सुरसण्ड र जनकपुरका हलमा लाग्ने गरेको सिनेमा । ऊ बेला सिनेमाको लत आज बियरको भन्दा बढी थियो । त्यसैले पनि पैसाको खोजी बढी हुन्थ्यो ।

मलाई सम्झना छ, पूजा र श्राद्धहरूमा हात खाली हुन्थेन । पाँच–दश पैसा गरेर भए पनि सुका–मोहरको बन्दोबस्त हुन्थ्यो । कहिले त दक्षिणा पाउने लोभले कक्षाबाट टाप ठोकिन्थ्यो ।

मुद्रा मोहको त्यो स्वरूप आज सम्झनामा आइरहेको छ । अपितु, त्यो मोह मात्र थियो । मुद्राको महत्त्वतर्फ ध्यानै गएको थिएन । जसरी हातमा आयो त्यसरी नै खर्चियो । कि त सिनेमा हेर्यो कि त जिलेबी र रसबरी खायो ।

हातमा आएको पैसोअनुसार खर्च गर्न कसैसँग सिकिरहनु पर्थेन । गणित वा अरू कुनै विषय सिक्नलाई ट्युसन लिनुपर्थ्यो । तर, हातमा आएको पैसा खर्च गर्नलाई ट्युसन चाहिएन । कहिल्यै दरकार नै परेन ।

पाँच पैसा हात लागे लेमनचुसले खाइन्थ्यो । एक–दुई रुपैयाँ हात लागे सहरतिर भागिन्थ्यो, सिनेमा हेर्न । सिनेमापछि पैसो राम्रै उब्रिए जिलेबीले मुख रसाइन्थ्यो । हैन भने मुरही र चियामा नास्ता टारिन्थ्यो ।

कसैले ‘पैसा बचा है’ भनेको भए हातमा पर्ने एक पैसादेखि रुपैयाँसम्म माटोको खुत्रुक्केमा जोरजाम गरिन्थ्यो होला । अहिले त कति सजिलो छ, बैंक र वित्तीय संस्थाहरूले नै केटाकेटीलक्षित बालबालिका बचत भनेर खुत्रुक्के खाताको व्यवस्था गरिदिएका छन् ।

तर, म परिनँ यो समयको । त्यो समयको परेँ, जतिखेर भकारीबाट धान, गहुँ र अरू अन्न निकालेर वस्तु वा पैसासँग साट्ने गरिन्थ्यो । चिनी चाहियो या साबुन, तेल चाहियो कि नुन, मट्टीतेल खाँचो पर्यो वा सलाई, ती सबैको सजिलो समाधान भकारीबाटै हुन्थ्यो । मानौँ, भकारी होइन मनचिन्ते झोला हो । जसले जे चाहिएको हो, त्यही दिन्छ ।

सिनेमा हेर्न पैसा चाहिँदा भने ठूलाबडा (नेता होइन, घरमूली)लाई रिझाउनुपर्दथ्यो । ऊ बेला भकारी टन्न भरिए पनि मुद्राको अभाव भइरहन्थ्यो, हजुबालाई । त्यसैले सिनेमा जाँदा उहाँको चाकरीमा खटिनु अपरिहार्य हुन्थ्यो ।

धान, चामल, गहुँ, तोरीलगायत अन्नबालीले जति भरिन्थ्यो भकारी, त्यति नै सजिलो बन्थ्यो हाम्रो सिनेमा यात्रा । तर, हरेक समस्याको समाधानका लागि भकारीको प्वाल खुल्नु जरुरी थियो ।

भकारीको प्वाल खोल्न बड्कबा वा बड्कीआमाका अगाडि प्रष्टीकरण आवश्यक हुन्थ्योे । कैयौँपटक भकारीबाट धान र गहुँ निकाल्न म सफल भएको छु । आफ्नो रहर स्पष्ट बतायो र काम फत्ते गर्यो ।

गाउँमा हुँदा मुद्रा प्राप्तिको आधार प्रष्टीकरण मात्र थियो । तर, बाह्रबिघाछेउमा प्रष्टीकरण दिने अवस्थामा म थिइनँ । किन ? भन्नासाथ प्रस्ट जवाफ दिनुपर्थ्यो । प्रश्नको जवाफ भए पनि आँट थिएन । त्यसैले बाटोभरि पैसा माग्न अनेक भूमिका बनाउँदै हिँडेको थिएँ ।

त्यस बेला पैसा सिनेमा हेर्नलाई चाहिएको थिएन । सिनेमा हेर्न पैसा माग्ने कुरै आउँथेन । कापी र कलम किन्न पनि थिएन । थियो त जलेश्वरदेखि भलुवाहीसम्मको यात्रा ।

तर, भलुवाही यात्राको कुरा उठाउनासाथ ‘छुट्टीमा होस्टेलमै बसेर पढ्न छोडेर टन्डेली गर्न गाउँ जाने ? हुन्न’ भन्न सक्ने सम्भावना थियो । त्यसैले यो कुरा भन्नै हुन्थेन ।

भलुवाही जाँदा जयनगर भएर जानुपर्थ्यो । खजुरीको बाटो एक्लै हिँड्ने हिम्मत थिएन । त्यसैले जनकपुरबाट रेलमा जयनगर गएर सिरहाका लागि टाँगा वा रिक्सा चढ्दा पैसा टन्न खर्च हुन्थ्यो ।

त्यही थोरै पैसालाई टन्न बनाउनै उहाँकहाँ पुगेको थिएँ म । मलाई तीन रुपैयाँ भए पुग्थ्यो । त्यसैले तीन रुपैयाँ मात्र मागेँ ।

उताबाट कुनै प्रश्न आएन । न त कुनै केरकार नै भयो ।

केही बेरमै मेरो हातमा पाँच रुपैयाँको नोट थियो, मागेभन्दा बढी !

त्यसपछिको अवस्था अवर्णनीय छ । मेरा खुट्टा भुईँमा थिएनन् । मैले आवश्यकताभन्दा बढी रुपैयाँ जो पाएको थिएँ ।

मेरो मानसपटलमा त्यो पाँचको नोट आज पनि नाचिरहेको छ । र, त्यसैले तिरिमिरीझ्याइँ पनि पारिरहेको छ । कारण, त्यो पाँच रुपैयाँ मैले आजसम्म तिर्न सकेको छैन ।

उतिखेर तिर्नुपर्थ्यो, तिर्ने आम्दानी थिएन । आज तिर्ने आँट छैन । पैसा भएर पनि तिर्न सकिन्न ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय