site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘प्रकाश’मा प्रकाश अब्बल, कथामा अलमल
Sarbottam CementSarbottam Cement

काठमाडौं । करिब एक महिना अगाडिको भेटमा नायक प्रदीप खड्का भन्दै थिए, ‘अनुप (बराल) सरले रोनाल्डोको उदाहरण नदिनुभएको भए म उहाँसँग एक्टिङ क्लास नै सायद सिक्ने थिइनँ होला ।’ निर्देशक दिनेश राउतले अनुपलाई भनेर प्रदीपलाई एक्टिङको क्लास लिने चाँजोपाँजो मिलाइदिएका थिए । यसका लागि प्रदीप पोखरा पुगेका थिए । अनुपले प्रदीपलाई पोखराको एक होटेलमा एक्टिङको क्लास लिने भए ।

पहिलो दिनको भेटमा अनुपले प्रदीपलाई सोधे, ‘तिमीले किन एक्टिङ सिक्न लागेको ? म भोलि तिमीलाई रोडमा हिँड्न लगाउँला, सडकमा मास्क लगाएर हिँड्नुपर्ने तिमीले म यत्रो स्टार रोडमा हिँड्ने भन्यौ भने ?’

बोल्नमा माहिर प्रदीपले आफू थप फराकिलो हुन चाहेको बताए । बाहिरी रूपमा त प्रदीप अभिनय सिक्न तयार थिए, तर मनोवैज्ञानिक रूपमा तयार थिएनन् । के गर्नुपर्ने हो र तयारी कसरी गर्ने थाहा थिएन ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो दिन अनुपले प्रदीपलाई अब्जरबेसनमा पठाए । प्रदीप दिनभर दिनेशसँग कफिसपमा गफिएर बसे ।

अर्को दिन अनुपले सोधे, ‘के गर्‍यौ हिजो ?’

Global Ime bank

गरेको भए पो यसो गरेँ भन्नु । अनुपको मुड अफ भएको उनको अनुहारमा प्रदीपले प्रस्टै देखे ।

दोस्रो दिन अनुपले बुक दिएर भने, ‘यो डाइलग डेलिभरको अभ्यास गर । भोलिबाट डाइलगमा प्राक्टिस गर्नुपर्छ ।’

दिनभरि दिनेश राउतसँग डुल्यो । गफ गर्‍यो । केको कण्ठ गर्नु डाइलग ।

भोलिपल्ट अनुपले भने, ‘ल, कति डाइलग कण्ठ गर्‍यौ, सुनाऊ त ।

पढेको भए पो सुनाउनु । डिस्करेज भएर फर्किए अनुप ।

अनि, प्रदीपलाई फिल भयो, ‘कस्तो लफडा लिइएछ । कसरी यत्रो कण्ठ गर्नु ?

चौथो दिन अनुपले भने, ‘प्रदीप, तिमीले सिरियस्ली लिएका छैनौ एक्टिङ के हो । तिमीलाई बुझ्न मन छ, तर सरफेसमा यो सम्भव छैन । क्राफ्टका लागि साधना नै गर्नुपर्छ ।’

प्रदीप सुनिरहेका थिए । अनुपले भन्दै गए, ‘तिमीले याद गरेका छौ ? रोनाल्डो वर्ल्डवाइड त्यति धेरै पपुलर र स्किलफुल भए पनि ऊ दिनकै किन दौडिन्छ ? आफ्नो स्किल बचाइराख्न दौडिएको हो । एउटा सिंगर हरदिन बिहान उठेर रियाज गर्छ । आफ्नो कलालाई पोलिस गरेन भने सधैँ तिमीले आज पाएको चिज रहिरहन्छ भन्ने छैन । तिमी आज चलेको छौ । तिमीले आफ्नो यो क्राफ्टलाई साधना गरेनौ भने यसले तिमीलाई छोडेर जान्छ ।’

यति भनेर अनुप हिँडे । ‘हो त है ! रोनाल्डो  हरेक दिन फुटबलको प्राक्टिस किन गर्छ, मैले के गरिरहेको छु ? केही छैन ।’

“अनुप सर हिँडेपछि मलाई रुन मन लाग्यो । मैले त ग्रान्ट लिइरहेको रहेछु । यतिकै मलाई कसैले मन पराइदिइरहेको छ । म त्यसैलाई भयंकर भनेर रमाइरहेको छु । तर, कहिलेसम्म ? एक दिन त यो रोकिन्छ । र, त्यति बेलासम्म समयले मलाई धेरैपछि छोडिसकेको हुनेछ भन्ने भयो,” प्रदीप आफूलाई आफैँले मूल्यांकन गरेको सम्झिन्छन्, “त्यसपछि मैले कण्ठ गर्न थालेँ । अल्छीपन हटाएँ । ९ बजे सर आउनुहुन्थ्यो । म उहाँ आउनुभन्दा अगाडि नै गार्डेनमा टेबुलकुर्सी तयार पारेर रेडी भएर बस्थेँ ।”

बुधबार सिनेमा हेरेर हलबाट निस्किँदै गर्दा अनुपसँग पंक्तिकारको भेट भयो । रोनाल्डोको उदाहरणले काम गरेछ ? “त्यो उदाहरण नदिएको भए सायद यति काम हुँदैन थियो कि ! सडकमा खाली खुट्टा हिँडाउँथे, प्रदीपको पैतालामा घाउ भएर खुट्टा खोच्याउँदै हिँडेको मैले देखेको छु,” अनुपले सुनाए ।

शुक्रबार रिलिज भएको चलचित्र ‘प्रकाश’मा तिनै प्रदीप मुख्य पात्रका रूपमा छन् । कमर्सियल चलचित्रमा गुड लुकिङ हिरोका रूपमा देखिने प्रदीप ‘प्रकाश’मा क्यारेक्टर आर्टिस्टका रूपमा छन् । 

छोरालाई शिक्षक बनाउने सपना देखेका सूर्य कमरेड छोरो हुर्की नसक्दै जनयुद्धमा बेपत्ता हुन्छन् । बुवाले छोरोमा देखेको सपना आमा सीता (दीया मास्के)मा सर्छ । र, नैतिक दायित्त्व पनि । छोरो प्रकाशलाई शिक्षक बनाउन सीता अर्काको घरका जुठा भाँडा माझ्छिन् । गोबर सोहोर्छिन् । हलो जोत्छिन् ।

हुर्किएका प्रकाशले शिक्षक सेवा आयोगमा भिड्ने अनुमतिपत्र (शिक्षक लाइसेन्स)को परीक्षा उत्तीर्ण गर्छन् । परिवारमा खुसीको बहार छाउँछ । शिक्षक सेवा आयोगले शिक्षकको रिक्त दरबन्दीमा आवेदन आह्वान गर्छ । आवेदनले खुसीसँगै प्रकाशको परिवारको अभाव र संघर्ष उद्घाटित हुँदै जान्छ । कसरी ? थाहा पाउन चलचित्र नै हेर्नुपर्छ ।

प्रकाश बनेका प्रदीप साँच्चै चलचित्रका नायक हुन् । सिनेमाभरि उनी कतै बिझाउँदैनन् । कमर्सियल चलचित्रमा काम गर्दै आएका प्रदीप चरित्र अभिनेतामा मजाले स्विच भएका छन् । गेटअप, हिँडाइ होस् वा फेसियल एक्स्प्रेसन प्रदीपले कथालाई न्याय गरेका छन् । लवाइ, खवाइ, हिँडाइ, बोलीबचनमा प्रदीप प्रशंसाका पात्र हुन् । उनले अपेक्षा गरेभन्दा धेरै काम दिएका छन् । चकलेटी हिरोको ट्याग लागेका उनले आफ्नो दायरा फैलाएका छन् । चरित्र अभिनयका लागि को छ ? सूचीमा प्रदीपको नाम पनि थपिएको छ ।

कमर्सियल सिनेमाका समकालीन नायकहरूमा प्रदीप अभिनयमा तुलनात्मक रूपमा अब्बल रहेको ‘प्रकाश’ले प्रस्ट्याइदिएको छ । यसअर्थमा उनी यो चलचित्रका साँच्चै प्रकाश हुन् ।

अभिनयमा थिएटर ब्याकग्राउन्डका कलाकारले न्याय गरेका छन् । निर्देशकले भन्न खोजेको कुरालाई पोट्रे गरेका छन् । प्रकाश घिमिरे, राजन खतिवडा, दीया मास्के, रेणु योगी (राधा)को अभिनय बिझाउँदैन । भलै, जुम्लीको जिब्रो जसरी फड्कारिन्छ त्यसमा उनीहरू कतै दुरुस्त सुनिन्छन्, कतै केही कमसल । तर, प्रयास नै सही, खोट लगाइरहनु पर्दैन ।

चलचित्रको अर्को अब्बल पाटो हो, ब्याकग्राउन्ड स्कोर । अक्सर हरेक नेपाली सिनेमाको ब्याकग्राउन्ड स्कोर उस्तै–उस्तै महसुस हुन्छ । तर पनि प्रकाशले त्यो आरोप झेल्नु पर्दैन । कुनै–कुनै ठाउँमा प्रयोग गरिएको साउन्ड लोभलाग्दो छ । धेरै दृश्य र डाइलगले भन्न नसक्ने कुरा केही सेकेन्डको साउन्डले भनेको छ । यसअर्थमा ‘प्रकाश’ साउन्डका हिसाबले पनि अब्बल सिनेमा हो ।

दृश्य र डाइलगअनुसारको सिनेमेटोग्राफी चलेको छ । ठाउँ, परिवेश र अवस्थाअनुसारका दृश्य छन् । रंगीचंगी र उज्याला दृश्य खिच्दैमा राम्रो सिनेमेटोग्राफी हो भन्ने भ्रमबाट चलचित्र बाहिर निस्किएको छ ।

आञ्चलिकता चलचित्रको अर्को सबल पाटो हो । काठमाडौं र गण्डकी प्रदेशको सेरोफेरोमा अधिकांश चलचित्र रुमलिरहेका बेला जुम्लाको बोली, लबज, पहिरन र त्यहाँको अभावले चलचित्रमा विविधता भर्छ ।

चलचित्रमा केही विम्ब छन्, जसले धेरै कुरा भन्छ । जातीय विभेद देखाउने पर्खाल । त्यो पर्खाल भत्काउन सुरु गरेको संकेतका रूपमा प्रकाशले एउटा ढुंगा निकालेर आफूले मन पराएको व्यक्तिलाई दिन्छ । अर्को विम्ब, दिन (मिति) बताउने जहाजको फ्लाइट छ । अनि, आकाशजस्तै छुन नसकिने सपनाको मेटाफोरका रूपमा आकाशतिरको हेराइ चलचित्रका सुन्दर पक्ष हुन् ।

चलचित्रले जुम्लाको एक गरिब परिवारको कथा भन्छ । शिक्षक बन्ने सपना बोकेर हिँडेको प्रकाश र उसकी आमालाई त्यसको भारी कति पर्छ ? चलचित्रले भन्ने प्रयास गर्छ । चलचित्रले कोटा प्रणालीको कुरा गर्छ । तर, दुर्गम कोटाको सुविधा प्रकाशले किन उपयोग गर्दैन ? कारण खुलेको छैन । कारण स्पष्ट छैन । जसलाई स्पष्ट पार्दा कथा थप बलियो हुन्थ्यो । 

गाविस अध्यक्षका लागि पूर्वपञ्च चुनावी प्रचारमा छन् । पैसाको खोलो बगाउनु परिरहेको कुरा गर्छन् । तर, विपक्षी सिनेमाभरि कहीँ कतै देखाइँदैन । किन ? लेखकले प्रश्न गर्ने ठाउँ छोडेका छन् ।

प्रदीप र रेणुको सुरुमा प्रेम, रेणुलाई माग्न केटापक्ष आएको दृश्य र विवाह, नयाँ आवरणमा पुरानै फर्मुला प्रयोग गरिएको छ । यसले कथालाई कमजोर बनाएको छ । शिक्षा आयोगको रिजल्टको पूर्वसन्ध्यामा सीताले सोध्छे, ‘प्रकाश पास त हुन्छ नि ?’ सीताले पाउने जवाफसँग प्रकाशको रिजल्ट मेल खाँदैन । अनि, त्यही समय पैसा लिएर जागिर सुनिश्चित गरिदिन्छु भन्नेप्रति आफ्नै बुवाले गरेको शंकाले के संकेत गर्छ ? यसमा लेखकीय तालमेल मिल्दैन ।

पढेलेखेको, टाठोबाठो, बेला–बेला विद्रोहसमेत गर्न पछि नपर्ने प्रकाशले भनसुन र घुसमा पटक–पटक शंका गर्छ । तर, जिल्ला प्रशासन कार्यालय लगेर चेक काट्दा किन त्यसको चियोचर्चोसमेत गर्ने आँट गर्दैन ? र, आवश्यक ठान्दैन । आफू ठगिरहेको उसको अनुहारले प्रस्ट देखाइरहेको छ, व्यवहारले बताइरहेको छ । तर पनि ऊ किन मौन छ ? कतै त्यही पात्र विद्रोह गर्दै हिँड्छ त कतै आत्मसमर्पण किन ? प्रश्न उठ्नु स्वाभाविक हो ।

रिजल्ट, विवाह, मृत्यु, पुल र प्रतिशोध यी सबै चलचित्रका सम्भावित क्लाइमेक्स सिन हुन् । तर, यी विभिन्न विकप्पमध्ये अहिलेको क्लाइमेक्स नै लेखकले किन रोजे ? योभन्दा अरू नै विकल्पमा क्लाइमेक्स सिन खोजिएको भए चलचित्र थप सशक्त हुने सम्भावना अधिक थियो ।

प्रतिशोध, वियोग र बिछोड मात्र सशक्त क्लाइमेक्स हो भन्ने पुरानो मान्यतालाई सिनेमाले पछ्याएको छ । यसमा निर्देशक अलमलिएका छन् । चलचित्र निर्देशकीय माध्यम हो । निर्देशक आफैँ स्पष्ट भएनन् भने देखाउन खोजेको के हो, सिनेमा स्पष्ट हुँदैन ।

यद्यपि, चलचित्र निर्देशकको भिजन हो । उनले यही भन्न खोजेका हुन् भने दर्शकले कति इन्टरटेन गर्छन्, त्यसको जसअपजसको भागी निर्देशक स्वयं हुन् । 

‘आई एम सरी’ देखि ‘प्रकाश’सम्म आइपुग्दा दिनेशले आफूलाई परिपक्व निर्देशकका रुपमा निखार्दै लगेका छन् । ‘आई एम सरी’देखि ‘प्रकाश’सम्मको स्विच र त्यसमा देखिएको ग्रोथले उनीबाट नेपाली चलचित्र उद्योगले थप राम्रा चलचित्र पाउने अपेक्षा गर्न सकिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  ०६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय