चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गलत ढंगले प्रचार गरिएको बताएका छन् । बुधबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले नागरिकता विधेयकलाई गलत ढंगले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताए ।
नागरिकता विधेयक अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिकहाँ जाने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, “अहिलेको विधेयकमा आमाबाबु दुवै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने कुरा मात्रै हो ।”
झन्डै ६/७ लाख नेपाली आमाबाबु दुवै नेपाली हुँदाहुँदै पनि नागरिकता पाउनबाट वञ्चित रहेको उल्लेख गर्दै उनले भने, “आमाबाबु दुवै नेपाली छन्, तिनका छोराछोरीले नागरिकता नपाएर अवसरबाट वञ्चित छन् । त्यो स्थिति अन्त्य गर्ने यो विधयेक हो ।” रासस