काठमाडौं । साउनमा वाणिज्य बैंकहरूमा एक खर्ब आठ अर्ब रुपैयाँ निक्षेप घटेको छ । साउन १ गतेदेखि ३१ गतेसम्म वाणिज्य बैंकहरूमा निक्षेप घटेको हो ।
असार ३१ गतेसम्म ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकल भएकोमा साउन ३१ गतेसम्म आइपुग्दा निक्षेप घटेर ४४ खर्ब ३३ अर्ब पुगेको छ ।
तर, पछिल्लो एक साताको तथ्यांक हेर्दा निक्षेप संकलनमा सुधार देखिएको छ । साउन २७ गतेदेखि साउन ३१ गतेसम्म निक्षेप संकलन १३ अर्ब रुपैयाँ बढेको नेपाल बैंकर्स संघले जनाएको छ । साउन २७ गतेसम्म ४४ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन ३१ गते बढेर ४४ खर्ब ३३ अर्ब पुगेको छ ।
साउनको पहिलो साता ६४ अर्ब, दोस्रो साता २८ अर्ब, तेस्रो साता चार अर्ब र चौथो साता २६ अर्ब रुपैयाँ निक्षेप घटेको थियो ।
त्यस्तै कर्जा प्रवाह पनि पछिल्लो एक महिनामा बढेको छ । एक महिनामा कर्जा प्रवाह दुई अर्ब बढेको बैंकर्स संघले जनाएको छ । असार ३१ गते ४१ खर्ब ७५ करोड रुपैयाँ रहेको कर्जा प्रवाह साउन ३१ गते ४१ खर्ब ७७ अर्ब पुगेको छ ।
साउनको पहिलो साता कर्जा प्रवाह १० अर्ब रुपैयाँ घटेको थियो भने दोस्रो साता एक अर्ब घटेको थियो । तर त्यसपछिका साताहरूमा भने कर्जा प्रवाह बढेको छ । तेस्रो साता कर्जा प्रवाह दुई अर्ब, चौथो साता नौ अर्ब र पाँचौँ साता एक अर्ब रुपैयाँ कर्जा प्रवाह बढेको हो ।