काठमाडौं । सरकार र निजी क्षेत्रले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरूको स्वागतमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरिएको हो ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले लगानीको सहजताका लागि कानुनी र प्रक्रियागत सुधार गरेको बताए ।
नेपालमा गरिने लगानीका लागि भारत र चीनलगायत प्रमुख बजार रहेको भन्दै उनले लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतसँग राजनीतिकसँगै सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको बताउँदै भारतीय लगानीकर्ताले निर्धक्क भएर लगानी गर्न सक्ने बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानी गरेका डाबर नेपाल, यूनिलिभर नेपाललगायत कम्पनीले सुरुमा गरेको लगानीको तुलनामा धेरै गुणा नाफा गरिसकेको उदाहरण दिँदै लगानीका लागि आग्रह गरे ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले नेपाल र भारतबीचको सामाजिक, सांस्कृतिक एवं आर्थिक पक्षबारे चर्चा गर्दै पर्यटन, पूर्वाधारका क्षेत्रमा लगानीका लागि उचित वातावरण निर्माण भएको बताए ।
उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिका अध्यक्ष ब्रम्हा मिश्राले नेपाल लगानीका लागि उचित गन्तव्य मुलुक भएको बताए ।
उनले नेपाल सरकार, नेपालको निजी क्षेत्रले भारतीय लगानीकर्तालाई गरेको सम्मान एवं स्वागतले आफूहरूलाई उर्जा प्रदान गरेको बताए ।