काठमाडौं । सहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समूहका कर्मचारीहरूले विरोध प्रदर्शन गरेका छन् ।
बिहीवार सिंहदबारस्थित मन्त्रालयअगाडि इन्जिनियरिङ समूहअन्तर्गतका सिभिल समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका कर्मचारीहरूले सांकेतिक रूपमा आन्दोलन गरेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत डोलिडारका नाममा रहेको डोली विभागलाई बस्ती विकास तथा पूर्वाधार सहजीकरण विभागका नाममा सहरी विकास मन्त्रालयमा ल्याउने र सहरी विभागको कार्यक्षेत्र ओगट्ने गरी निर्णय भएको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनका संयोजक एवं सहरी विकास मन्त्रालयका सहसचिव एकराज अधिकारीले मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल सच्याउनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सहरी विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएको बताए । उनले सरकारले इन्जिनियरहरूको माग तत्काल सुनुवाइ नगरे देशभरका सहरी विभागको काम ठप्प पार्ने तथा प्राविधिकहरूले सामूहिक राजीनामा दिने चेतावनी पनि दिए ।