काठमाडौं । सहकारीले स्थिर सम्पत्ति (घर तथा जग्गा)मा कर्जा लगानी गरेर जोखिम बढाएपछि यस्ता कर्जा सकेसम्म प्रवाह नगर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले मंगलबार निर्देशनमार्फत सहकारीहरूलाई घर तथा जग्गामा सकेसम्म कर्जा लगानी नगर्न भनेको हो ।
कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने स–साना व्यावसायमा लगानी गर्नुपर्ने निर्र्देशनमा उल्लेख छ । कर्जा लगानी गर्दा सहकारी संस्थाले दीर्घकालीन स्रोत सुनिश्चित गर्नुपर्ने पनि उल्लेख छ ।
यस्तै, सञ्चालन घाटामा रहेका संस्थाहरूले नाफामा सञ्चालन नहुन्जेलसम्म सेयर लाभांश र कर्मचारी बोनस कोषको रकम वितरण नगर्न पनि भनिएको छ । सञ्चालकको सुविधा कटौती गर्ने, मितव्ययिता अपनाएर निश्चित प्रतिशतले प्रशासनिक खर्च घटाउने, विनायोजना खोलिएका वा घाटामा चलेका शाखा वा सेवा केन्द्रहरू बन्द गर्ने उपायहरू अवलम्बन गर्न पनि निर्देशन दिइएको छ ।