इन्द्रकुमार श्रेष्ठ सरित्
हेर्छु म सधैँ उदाउँदो सूर्यलाई
सूर्यका राता किरणहरूसँग हिँड्दै
म एक अँगालो उज्यालोलाई अँगाल्छु
नवीन उत्साहको डुंगा चढेर अघि बढ्छु
जताततै म सुन्दर हरियाली देख्छु
त्यही हरियालीले मधुर वासन्ती गाएको सुन्छु
असीम उत्साहको सञ्चार गराउने पलहरू
पटुकीमा बाँधेर गतिका साथ हिँडिरहन्छु
आशालाई च्यापेर हिँडेको एक युग बित्यो
निराशाले छोप्ने बादलको कैयौँ कहानी बन्यो
तैपनि मनले हरेस खाएन, पछि हट्न मानेन
खडेरीमै पनि आशाको गाग्री थापिरह्यो
हेर्दाहेर्दै ऋतु फेरिए, मान्छे ढले, मान्छे उठे
चिसिएका आँखाहरूले ओभाउने आशा राखिरहे
समय थाहै नपाई सबैको आँखैसामु बदलिसकेछ
मियोहरू नै साथ छाड्दै कहिले जुटे, कहिले फुटे
रोएर जीवनको गन्तव्य कहिल्यै भेटिन्न
आँसुको भेलमा अमूल्य जीवन व्यर्थै बगाउनु पनि छैन
त्यसैले सञ्चित गरेर पुरानै जोस, लक्ष्य र विचारलाई
समयसँगै हिँड्नु छ न्याय र समानता फुल्ने गन्तव्यमा पुग्न ।