तिमी अदृश्य छौ
हामीलाई थाह छ
तिमी एकान्तप्रेमी छौ
हामीलाई थाह छ
तर पनि तिमीलाई भेट्न
हुलका हुल मान्छे
तिम्रै पछि–पछि
सधँै दौडिरहेका छन्
हात हातमा अबिर, अक्षता र फूल बोक्दै
तिमीले बनाएका
हामी फगत मान्छेहरू
तिमी भेटिएको भ्रममा
मन्दिर बनाउँछौँ
मस्जिद बनाउँछौँ
गुम्बा बनाउँछौँ
चर्च बनाउँछौँ
र,
म र मेरो ईश्वर ठूलो भएको भ्रम छर्छौँ
त्यसरी नै तिम्रै नाममा हामी
आ–आफ्नो अस्तित्वको लडाइँ सुरु गर्छौँ
युगौँदेखि चलिरहेको यो वाकयुद्ध
तिमीले देखिरहेका छौ कि छैनौ ?
तिमीले गरेका युद्धका कथामा
हामी उत्सव मनाइरहेका छौँ
आफ्नो आस्थाको खातिर
मठमन्दिर, गुम्बा बनाइरहेका छाँै
लाग्छ, तिम्रो खोजीमा लागेका
हाम्रा पाइलाहरू भौँतारिरहेका छन्
तिमीलाई भेट्ने आसमा
अझै कति खोज्नु हो तिमीलाई
युगौँयुगसम्म नभेटिएका
हे प्रिय ईश्वर,
अब हामीले तिमीलाई भेट्ने
एउटा प्रण गरेर
कविताको यात्रा छेडेका छौँ
एउटा पवित्र यात्रा
सुन यो यात्रामा तिम्रा
सबै–सबै अनुयायीहरू हुनेछन्
तिम्रो खोजमा तिम्रा तस्बिरहरू बन्नेछन्
तिम्रै नाममा छेडिएका युद्ध रोकिनेछ
मानवीय संवेदनाका पक्षमा
सबै उभिनेछन्
तिम्रै मठमन्दिरमा तिम्रा तस्बिरहरू
टाँगिनेछन्
कविताहरू लेखिनेछन्
संस्कृतिहरू बचाइरहनेछन्
आस्थाका पहाडहरू चुलिइरहनेछन्
हामी चुपचाप तिमै्र कविता कोरिरहन्छौँ ।