नेपालबाट निकासी हुने चिया नियन्त्रण गर्न भारतले कानुन बनाउन लागेको छ । अहिले नेपाली चियाको ठूलो अंश भारतमा निर्यात हुन्छ । भारत निर्यात गर्न नपाए नेपालका चिया उद्यमीहरूलाई ठूलै हानि हुन्छ ।
नेपाली चिया भारतको बजारमा पुग्न नदिन भारतीय उत्पादकहरूले पैरवी गर्दै आएका थिए । सम्भवतः भारतीय संसद्मा अहिले विचाराधीन विधेयक उनीहरूकै चाहनाअनुसार तयार गरिएको हो ।
यसैले नेपालका चिया उद्यमीहरूको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी सहयोगको आग्रह गरेको हुनुपर्छ । प्रधानमन्त्रीकै तहबाट गम्भीरतापूर्वक पहल भएमा भारतले नेपालको चिया निकासीमा नियन्त्रण नगर्ने विश्वास उनीहरूको देखिन्छ ।
भारतले पुनर्विचार गरेमा पक्कै पनि तत्कालका लागि केही सजिलो होला । तर, भारतीय कृपामा रहुन्जेल नेपालको चिया व्यवसाय पनि फस्टाउन सक्तैन । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न र आन्तरिक उपभोग बढाउन सकेमात्र नेपाली चिया व्यवसाय जोगिन सक्ने देखिन्छ ।
तत्कालका लागि भारतसँग वार्ता गरेर सङ्कट निवारण गरे पनि त्यो दिगो हुँदैन । आर्थिकमात्र नभएर राजनीतिक र कूटनीतिक कारणले पनि भारतले कुनै पनि बेला बखेडा झिक्न सक्छ । यस्ता अनेकौं उदाहरण विगतमा देखिएको छ ।
भारत वा चीनले जति मीठो कुरा गरे पनि अन्ततः हेर्ने त आआफ्नै हित हो । दुई ठूला अर्थतन्त्रका बीचमा हुँदैमा अवसर स्वतः आउँदैन । छिमेकीको हृदय पनि उदार हुनुपर्छ । दुर्भाग्य, नेपालका हकमा अवस्था खासै उत्साहप्रद देखिँदैन ।
नेपालका उत्पादकहरूले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नका लागि चियाको गुणस्तरमा ध्यान दिनुपर्छ । गुणस्तर र मूल्यमा प्रतिस्पर्धा गर्न सके चियाको बजार पाउन उति कठिन नहोला । त्यसका लागि आवश्यक तयारीमा व्यवसायीलाई राज्यले सघाउनु आावश्यक हुन्छ ।
यस्तै नेपालको बजारमा भारत, श्रीलङ्का र अन्य मुलुकमा उत्पादित चियाको बजार ठूलै छ । त्यसलाई प्रतिस्थापित गर्न सकेमात्र पनि नेपाली चियाले राम्रै बजार पाउनेछ । यसैले आन्तरिक बजारमै नेपाली चियाको विक्री बढाउन योजनाबद्ध अभियान चलाउनुपर्छ ।
यसैले नेपालमा सबै गुणस्तरको चियाका पारखीहरू बढ्दै पनि छन् । चिया संस्कृतिको विकाससँगै नेपाली चिया उपभोगको बानी पनि बढाउन समाजका अगुवाहरूले पनि उदाहरण प्रस्तुत गर्नुपर्छ । राष्ट्रको माया गर्ने हो भने राष्ट्रिय उत्पादन उपभोग पनि त गर्नु पर्यो नि !