काठमाडौं उपत्यकाका केही खोलाहरूमा आएको बाढी किनारमा बनाइएका घरहरूमा पसेको छ । फलस्वरूप, सयौं परिवार बाढीका कारण बिचल्लीमा पपरेका छन् । बाढीले विशेषगरी खानेकुरा र लुगाफाटा बिगारेको बताइएको छ ।
तराईमा पनि बाढी आएको छ । ठूला नदीहरूमा आएको बाढीले ठूलै क्षति गरेको छ । तराईका र उपत्यका दुवैतिरको बाढीको कारण अत्यधिक वर्षा नै भए पनि कारक भने नितान्त फरक देखिन्छन् ।
तराईको बाढी हजारौं वर्ष पुरानो कथा हो । त्यसमा वायुमण्डलको तापक्रममा वृद्धिका कारण अहिले त्यसको प्रकृति केही बदलिएको छ । पीडितहरू बाढीका कारक होइनन् । अरूकै कारण उनीहरूले बाढीको कहर सहनु परेको हो ।
उपत्यकामा अहिले आएको बाढीलगायत थुप्रै नयाँ बस्तीहरूमा भने बाढीको विनाश त्यहाँका बासिन्दाले नै निम्त्याएका हुन् । यथार्थ के हो भने बस्तीमा मनोहराको बाढी पसेको नभएर त्यहाँको बस्ती खोलामा बसेको हो । यसैले विनाश अनपेक्षित थिएन ।
केही दिन आकस्मिक उद्धार, सहायता र पुनःस्थापनामा सहयोगपछि बिस्तारै अर्को बाढी नपस्दासम्म त्यहाँका बासिन्दाले बाढीको विनाश र जोखिम बिर्सिनेछन् । चुनाव नजिकै भएकाले उमेदवार र तिनका समर्थकले दिने आश्वासन पनि चुनाव सकिएसँगै थन्कनेछन् ।
खोलाको सीमा अतिक्रमण गरेर बस्ती बसाउने र कथित बस्तीमा बाढी पस्ने क्रम भने रोकिनेछैन । त्यसरी खोला मिचेर बस्नेहरू धेरैले आफूलाई ‘सुकुमवासी’ भन्ने गर्छन् । सुकुमवासी राजनीति नेपालमा पञ्चायतकै पालादेखि निकै ‘आकर्षक’ रहिआएको छ ।
दुर्भाग्य, धेरै जिल्लामा अहिले सुकुमवासी समस्या समाधानका नाममा नदी, खोलाहरूको किनारका जग्गा व्यक्तिका नाममा दर्ता गरिदिन थालिएको छ । सुकुमवासी समस्याका नाममा यसरी खोलाको साँध मिच्नु मिचाउनु प्रकृति र भविष्य दुवैविरुद्ध गरिएको अपराध हो ।
अहिले उपत्यकालयायत विभिन्न बस्तीमा पसेको खोलाको बाढी यही अपराध बापत प्रकृतिले दिएको सजाय हो । बस्तीमा पसेर खोलाले अर्घेल्याईँ गरेको होइन बरु आफ्नो साँधमा दाबी गरेको हो । यसैले खोलाको सन्देश र सङ्केत बुझ्नु जरुरी देखिन्छ ।
परन्तु, अहिलेको राजनीति र ‘विकासे विज्ञ’हरूको सोच हेर्दा प्रकृतिको सन्देश स्वीकार गरिने अपेक्षा गर्न सकिँदैन । उनीहरू त खोलामा तटबन्ध बनाउन करोडौं खर्चने तरखरमा हुनसक्छन् । तटबन्धका नाममा किनारमा थुपारिने ढुङ्गाको थुप्रोले उर्लेर आएको खोलालाई छेक्न सक्तैन ।
फलामे तारजाली, ढुङ्गा र सिमेन्ट प्रयोग गरेर बनाइने तटबन्धको प्रयोग नेपालका खहरे प्रकृतिका खोलामा असफल भइसकेको स्वीकार गर्न विकासे विज्ञहरू तयार नहोलान् । परन्तु, यो जताततैबाट पुष्टि भएको उदाहरण हो ।
यसैले अहिले खोला पसेको बस्ती जोगाउन खोला छेक्ने प्रत्युत्पादक प्रयास गर्नुको साटो बस्ती नै सार्ने योजना बनाउनु उचित र दिगो समाधान हुनेछ । खोलाको साँध मिचेर होइन छिमेकमा बस्ने नेपाली परम्परा उल्लङ्घन गर्नु आत्मघाती भएको नबिर्सौँ ।