काठमाडौं । धादिङको स्यानिटरी ल्यान्डफिल साइटमा गाडी तोडफोडपछि काठमाडौं उपत्यकाको फोहोर उठाइएको छैन । विसर्जनस्थलमा पुगेका फोहोर बोकेका गाडी र फोहोर निकालेर पेल्ने काठमाडौं महानगरपालिकाका तीन डोजर तोडफोड गरिएपछि फोहोर उठाउन नसकिएको जनाइएको छ ।
गएको सोमबार राति करिब ९ बजे अज्ञात समूहले फोहोर बोकका १५ गाडी र तीन डोजर तोडफोड गरेको थियो । महानगरअन्तर्गतको कृषि तथा वातावरण विभागकी प्रमुख सरिता राईले गाडी र महानगरका मेसिन तोडफोड गरिँदा तीन दिनदेखि फोहोर उठाउन ठप्प भएको बताइन् ।
उनले गाडीबाट फोहोर झार्ने मेसिन (डोजर) काम नलाग्ने गरी बिग्रिएपछि फोहोर उठाउन नसकेको बताइन् । “काठमाडौं महानगरपालिकाका दुईवटा डोजर र एउटा एस्काभेटर चलाउन नमिल्ने गरी फोडिएका छन् । तीन डोजर र एक्साभेटरले फोहोर निकालेर पेल्ने काम गर्थे,” उनले भनिन् ।
महानगरले मंगलबार जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङलाई क्षतिको विवरण पठाउन पत्राचार गरेको छ । स्थानीयका केही व्यक्तिगत मागहरू भएकाले उनीहरूले नै तोडफोड गरेको महानगरको आरोप छ । प्रहरीले यसको अनुसन्धान गरिरहेको छ । यद्यपि, तोडफोड गर्ने समूह पत्ता लाग्न नसकेको विभागीय प्रमुख राईले बताइन् ।