लन्डन । डाक्टरहरूले चार महिनादेखि कोमामा रहँदै आएका १२ वर्षीय बालकको उपचार बन्द गर्ने निर्णय लिएपछि बेलायतको राजधानीस्थित एउटा अस्पतालमा उनको निधन भएको छ ।
परिवारले बालक आर्चि ब्याटर्सविको उपचार जारी राख्नुपर्ने कानुनी संघर्ष गर्दै आएका थिए ।
उनकी आमा होल्ली ड्यान्सले डाक्टरहरूले उपचार रोकेको दुई घन्टापछि शनिबार दिउसो उनको निधन भएको जनाएकी छन् ।
बेलायतका अदालतहरूले परिवारको आर्चिको उपचार लम्ब्याउने र उनलाई होस्पाइसमा सार्ने अनुरोध अस्वीकार गरेका थिए । ती अदालतले दुवै माग बालकको हितमा नरहेको बताएका थिए ।
अस्पताल बाहिर उभिरहेकी ड्यान्सले रुँदै भनिन्, “म संसारकै सबैभन्दा गौरवान्वित आमा हुँ । मेरो यस्तो सुन्दर सानो छोराले अन्तिम क्षणसम्म जिन्दगीका लागि संघर्ष गरे ।”
एक बालकको उपचार र स्याहारका लागि निर्णय गर्न बेलायतमा सम्बन्धित अभिभावक र डाक्टरहरूबीच भएको यो पछिल्लो कानुनी भिडन्तको उदाहरण बनेको छ ।
यस घटनापछि अदालत बाहिरै यस्ता समस्याको सही समाधान खोज्ने उपायको संभावनालाई लिएर बेलायती समाजमा बहस सुुरु भएको छ । आर्चिलाई ७ अप्रिलमा घरमा टाउकोमा ब्यान्डेज लगाएको र अचेत अवस्थामा भेटाइएको थियो ।
उनका अभिभावकहरूले उनी अनलाइनमार्फत कुनै गलत चुनौतीपूर्ण खेल खेल्दै गर्दा उनलाई यस्तो भएको हुनुुपर्ने सोचेका थिए ।
दुर्घटना हुनासाथ आर्चिको मस्तिष्क–स्टेम मृत हुनपुगेको हुनुपर्ने निर्णयमा डाक्टरहरू पुगेका थिए । उनलाई बचाउन कृत्रिम श्वासप्रश्वास प्रक्रिया लगायत अन्य सम्पूर्ण औषध उपचार विधि अपनाइएको थियो ।
एपीबाट ।