काठमाडौं । इङ्ल्यान्डका अलराउन्डर मोइन अलीले क्रिकेटमा अहिलेको जस्तो व्यस्त खेल तालिका भएमा बेन स्टोक्सले जस्तै अन्य खेलाडीले पनि एकदिवसीय क्रिकेटबाट सन्यास लिने र यस स्वरूपको क्रिकेट नै संकटमा पर्ने चेतावनी दिएका छन् ।
इङ्ल्यान्डका टेष्ट कप्तान ३१ वर्षे स्टोक्सले गत महिना एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । स्टोक्सले ट्वान्टी–२० फ्रेन्चाइज लिगका कारण बनेको अनुपयुक्त खेल तालिकालाई आफ्नो सन्यासको कारण बताएका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले प्रत्येक वर्ष एक ‘ग्लोबल इभेन्ट’ थप गरिदिएका कारण खेलाडी अझै बढी व्यस्त हुनुपर्ने भएको छ ।
“मेरो विचारमा अहिलेको स्थितिले दिर्घकालिन रूपमा असर गर्नेछ,” द हन्ड्रेड क्रिकेटका क्रममा अलीले भने, “यसमा केही गर्नु आवश्यक भएको छ । किनकी अहिलेकै स्थिति रह्यो भने ५० ओभर स्वरूपको क्रिकेट अबको केही वर्षमा विलीन हुनेछ । यसलाई अहिले धेरै महत्व दिइएको छैन ।”
इङ्ल्यान्डका अन्य खेलाडी जोस बट्लर र जो रुटले पनि यस विषयमा चिन्ता व्यक्त गरेका छन् । त्यस्तै भारतका स्पिनर रविचन्द्रन आश्विनले पनि एकदिवसीय स्वरूपको सान्दर्भिकताबारे प्रश्न उठाएका छन् ।
“सबै तीन स्वरूपमा अन्तर्राष्ट्रिय क्रिकेट हुनु सबैभन्दा राम्रो हो,” गत वर्ष टेष्ट क्रिकेटबाट सन्यास लिएका मोइन अलीले थपे, “तर, पछिल्लो समय धेरै प्रतियोगिता हुन थालेका कारण धेरै खेलाडीले सन्यास लिने क्रम बढ्दो छ । र, प्रतियोगिताको मिति जुध्ने भएकाले भविष्यमा अझै धेरै खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनेछन् ।”
चर्को आलोचनाका बाबजुद आईसीसीले यसै साता सबै स्वरूपमा खेलाडीले खेल्ने दाबी गरेको छ । प्रमुख कार्यकारी जियोफ एलार्डिसले अझै पनि सबै खेलाडी विश्वकप र आईसीसीले अयोजना गर्ने प्रतियोगिता खेल्न लालायित रहेको बताए ।