फोहोर, हिलो र धुलो काठमाडौं महानगरको पहिचान बन्न पुगेपछि नागरिकहरूले महानगरपालिकाको राजनीतिक नेतृत्वसँग प्रश्न गरेका थिए । चित्त बुझ्दो उत्तर नपाएपछि उनीहरूले मौका पाउनेबित्तिकै नेतृत्व बदले ।
नेतृत्व परिवर्तन पनि सामान्य हेरफेरमात्र थिएन । महानगरपालिकाको प्रतिष्ठित मेयर पदमा स्वतन्त्र युवालाई जिताए । नयाँ नेतृत्व राजनीतिक लाभहानिको साटो नगरका समस्या समाधानमा संलग्न हुने अपेक्षा जनताले राखेको हुनुपर्छ ।
सुरुका केहि दिन महानगरपालिकाका प्रमुखले केही नयाँ विचार र व्यवहार पनि देखाए । शौचालय सुविधा दिलाउन, फोहोर फाल्ने ठाउँका जनतासँग संवाद गर्न उनले देखाएको तत्परताको सराहना उनलाई चुनावमा मत नदिनेहरूले पनि गरेका थिए ।
दुर्भाग्य, महानगरको अवस्था भने फेरि पहिलेजस्तै भएको देखियो । सडकको हिलो, धुलो र फोहोरको दुर्गन्ध दोहोरियो । फराकिला सडक पेटी अतिक्रमण गर्नेहरूको सामान लुट्नेदेखि पैदल बाटामा सरकारी निकायले थापेको धराप बेवास्ता गर्ने प्रवृत्ति पनि पूर्ववत् भयो ।
यसबाट महानगरपालिकाको कुर्सीमा बसेपछि नयाँ प्रमुख पनि अलमलिएको देखियो । सम्भवतः उनले महानगरका कर्मचारीको रकमी कारिन्दे सोच र भ्रष्ट शैली बदल्नै खोजेनन् । कारण सोच र शैली बदल्न खोजेकै भए त केही फरक पक्कै पर्ने थियो ।
काठमाडौं सहरका जनसाधारणका समस्यालाई अहिलेसम्म प्राथमिकता दिइएन । सार्वजनिक यातायात, पैदल बाटाहरू, फोहोरमैला व्यवस्थापन, खानेपानी आपूर्तिजस्ता जनसाधारणका आधारभूत आवश्यकता कहिल्यै कुनै नेतृत्वको प्राथमिकतामा परेन । कारण, उनीहरू जनसाधारणसँग जोडिएकै थिएनन् ।
जनसाधारणसँग जोडिएका ससाना तर महत्त्वपूर्ण कामहरू गर्न धेरै खर्च र समय पनि लाग्ने थिएन । पैदल बाटामा सरकारी निकायका कारण बनेका धराप हटाउन उनीहरूलाई महानगरपालिकाले आदेश दिनसक्थ्यो । निश्चित समयभित्र जोखिम सम्बन्धित निकायले काम नगरे आफैँले गराई बिल पठाइदिन सकिन्थ्यो ।
महानगरभित्रका ससाना तर जनतालाई जोखिम र असुविधा हुने कुरा हेर्न त वडा कार्यालयहरूले नै सक्थे । वडा सदस्यहरूको नेतृत्वमा केही युवालाई आंशिक रोजगारी दिएर पनि यस्तो काम गर्न सकिन्छ ।
उनीहरूलाई प्रत्येक दिन निश्चित क्षेत्र तोकेर निरीक्षणमा पठाउने र ससाना मर्मत तत्काल गरिहाल्ने अभ्यास गर्ने हो भने सडकदेखि सार्वजनिक यातायातका धेरै समस्या सहजै समाधान हुनेथिए । यत्ति हो, यसो गर्दा कमिसन भने आउने थिएन ।
काठमाडौं महानगरपालिकाको इतिहास राणाकालसँग जोडिएको छ भन्दैमा जनसाधारणको हित सोच्नै नपाइने त पक्कै होइन । यसैले जनता पूरै निराश हुनुभन्दा पहिले नै जनसाधारणको सुविधा र सुरक्षाका लागि केही काम गरे बेस हुनेछ । र, यसका लागि सबैभन्दा पहिले सोच र शैली बदल्नु जरुरी पर्छ । दुर्भाग्य, यही काम सबैभन्दा कठिन छ ।