काठमाडौं । शीर्ष वरीयताप्राप्त अर्हान्तकेशर सिंहले शनिबार दोस्रो वरीयताका अमृत थापामगरलाई ३–० को सोझो सेटमा हराउँदै धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा पुरुष एकल स्पर्धाको उपाधि रक्षा गर्न सफल भएका छन् ।
सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट्स संघको स्क्वास हलको सेन्टर कोर्टमा सम्पन्न प्रतियोगिताको चौथो संस्करणमा अर्हान्तले अमृतलाई ११–४, ११–७ र ११–६ को स्कोरमा हराउँदै उपाधि पक्का गरेका हुन् । अमृतले तीनै सेटमा सुरुमा अग्रता बनाए पनि अर्हान्तबाट एक सेट पनि खोस्न सकेनन् ।
दोस्रो सेट सकिएपश्चात् अमृतको मांसपेशीमा पीडा महसुस भएपछि केही मिनेट खेल रोकिएको थियो ।
विजेता अर्हान्तले २५ हजार रुपैयाँ नगद पुरस्कार जिते । उपविजेता अमृतले १५ हजार प्राप्त गरे । सेमिफाइनलमा खेल्ने अमिर ब्लोन र दीपक थापाले समान १० हजार पाए ।
शनिबार नै महिला एकलमा कृष्णा थापामगरले विपना ब्लोनलाई ११–७, ११–७ र ११–७ को स्कोरमा हराउँदै उपाधि जितिन् । कृष्णा र पुरुष एकलका उपविजेता अमृत दिदीभाइ हुन् । विजेता कृष्णाले १८ हजार र उपविजेता विपनाले ११ हजार रुपैयाँ नगद पुरस्कार जिते ।
१९ वर्षमुनि उमेर समूहको ब्वाइज जनियरमा विकास मगरले उपाधि जिते । उनले फाइनलमा गोपाल थापालाई ३–१ को सेटमा हराए । विकासले पहिलो सेट ८–११ को स्कोरमा गुमाए पनि बाँकी सेट ११–२, ११–९ र ११–८ को स्कोरमा जितेका थिए । विकासले १० हजार र गापालले ६ हजार रुपैयाँ नगद पुरस्कार जिते ।
५० वर्षमाथि उमेर समूहको मास्टर्स खुला स्पर्धामा सन्दीपबहादुर सिंहले प्रज्ज्वल प्रधानलाई ११–५, ११–१३, ११–७ र ११–६ को स्कोरमा हराउँदै उपाधि जिते । यस विधामा दिलीप अधिकारी र धनबहादर पुन संयुक्त रूपमा तेस्रो भए ।
पुरुष प्लेटतर्फ प्रयाग जोशीले राज महर्जनलाई ११–७, १२–१० र १४–१२ को स्कोरमा हराएर च्याम्पियन बने । सो विधामा कमल शाक्य र जुनिल शाक्य सेमिफाइनलमा पराजित भएका थिए ।