![यो वर्ष जनार्दन, राजापाक्ष र शेख बन्दै मनोज](https://12khari.top/uploads/posts/manoj jjj1659663896.jpg)
काठमाडौं । हास्य कलाकार मनोज गजुरेललाई यो पटक नेपाली दर्शकले तीनवटा नयाँ क्यारेक्टरमा देख्न पाउने भएका छन् । गाइजात्राको अवसर पारेर तीन पात्रमार्फत गजुरेलले सम्बन्धित व्यक्ति तथा सरोकारवाला पक्षलाई व्यंग्य गर्ने छन् ।
तीनवटा पात्रमध्ये एउटा हो, अर्थमन्त्री जनार्दन शर्माको क्यारेक्टर । बजेट भाषणको अघिल्लो दिनको रात अर्थ मन्त्रालयमा बाह्य व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गराएको भन्दै आलोचना भएपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए । संसदीय विशेष छानबिन समिति गठन भएर गरिएको छानबिन समितिले उनलाई क्लिन चिट दिएपछि उनी पुनः अर्थमन्त्रीका रुपमा मन्त्रालय फर्किएका छन् ।
“जानर्दन भन्न बित्तिकै बजेट भाषणकै कुरा हो । यो गाईजात्रामा उहाँ पनि मेरो क्यारेक्टर हो । चर्चित पात्र भएकाले उहाँलाई मैले रोजेको हुँ,” मनोजले भने ।
यस्तै मनोजको अर्को पात्र हो– श्रीलंकाली पूर्व राष्ट्रपति महिन्दा राजापाक्ष । राजापाक्षलाई हेरेर नेपालका पूर्वप्रधानमन्त्रीहरूले सिक्नुपर्ने पाठबारे व्यंग्य गर्ने उनले बताए । “राजापाक्ष विश्वकै राजनीतिमा एउटा सिम्बोल भएकाले उनलाई पात्र बनाइएको हो । उनीमार्फत नेपालका जिवित ६ जना पूर्वप्रधानमन्त्रीलाई व्यंग्यात्मक रूपमा उनले अनलाइन क्लास लिनेछन्,” आफूले गर्न लागेको चरित्रबारे मनोजले प्रष्ट पारे ।
तेस्रो पात्र हो अरेबियन शेख । “नेपालका मेनपावर व्यवसायीहरूलाई उनले दिएको सन्देश छ यो क्यारेक्टरमा । नेपाली भएर नेपालीलाई ठग्छौ तिमीहरू ? उनले भन्छन्, हाम्रो देशमा भए तिमीहरू जस्ता ठगलाई झुण्ड्याइसक्थे,” मनोज भन्छन्, “त्यसैले यो ठग्ने काम नगरौं भन्ने सन्देश मैले यो पात्रमार्फत दिन खोजेको छु ।”
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
मनोज हरेक वर्ष नयाँ–नयाँ पात्रको गेटअपसहित बहुबहु नक्कल गर्दै व्यंग्यात्मक प्रस्तुति दिँदै आएका छन् ।