विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको ६८औँ वार्षिकोत्सवको अवसरमा सोमबार उत्कृष्ट प्राध्यापक र कर्मचारी पुरस्कृत भएका छन् ।
पुरस्कृत हुने प्राध्यापकमा प्रा.डा. देवेन्द्र अधिकारी, महेन्द्रनारायण कर्ण र नन्दकिशोर अग्रवाल छन् । यस्तै, कर्मचारीद्वय निरञ्जन पोखरेल र शान्तिदेवी कामतसमेत सम्मानित भएका हुन् ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला, क्याम्पस प्रमुख डा. बाबुराम तिमल्सिना, त्रिवि प्राध्यापक संघ क्याम्पस एकाईका सभापति डा प्रमोद खेरवार, सहायक क्याम्पस प्रमुख डा सुशील अधिकारीले उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई नगद, सम्मानपत्रसहित दोसल्ला र माला लगाएर सम्मान गरेका थिए ।
उत्कृष्ट प्राध्यापकको रूपमा छनोट भएका महेन्द्र नारायण कर्ण घरायसी कारणले अनुपस्थित भएकाले उनको सम्मान पछि हस्तान्तरण गरिने जनाइएको छ ।
सम्मान कार्यक्रममा पूविका उपकुलपति प्रा.डा. कोइरालाले महेन्द्र मोरङ क्याम्पसले शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि धेरै सम्भावना बोकेको संस्था भएकोले अब एकजुट भएर अगाडि बढ्न सुझाव दिए ।
सो अवसरमा पुरस्कृत प्राध्यापक डा. देवेन्द्र अधिकारी, सहायकप्रमुखद्वय डा. विष्णुदेव दास र डिल्ली पोखरेल, प्राडा राजनारायण यादव, त्रिवि कर्मचारी संघका एकाई अध्यक्ष अनिल यादव, राधा अधिकारीलगायतले मन्तव्य राखेका थिए ।