काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा बसाइसराइको नक्कली कागजातका आधारमा मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै निष्पक्ष छानबिनका लागि कांग्रेसले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा प्रदर्शन गरेको छ ।
वि.सं. २०७४ देखि ०७९ सालसम्मको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकामा तीन हजारभन्दा बढी फर्जि मतदाताले मतदान गरेको पुष्टि भएको प्रमाणसहित निर्वाचन आयोगमा बुझाएको र छानविनलाई प्रभावकारी बनाउन माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । आगामी निर्वाचनमा फर्जि मतदाताको नाम हटाउनुपर्ने र किर्ते काममा सहभागीलाई कारबाहीका लागि ध्यानाकर्षण गर्न प्रदर्शन गरिएको कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ का क्षेत्रीय सचिव बद्री भट्टराईले बताए ।
उनले नगरपालीकाभित्र सरकारी छापको दुरुपयोग गरिएको, कार्यालय सचिवको हस्ताक्षर प्रयोग भएकाले फौजदारी संहिता अनुसार कारवाही गर्नुपर्ने आफूहरुको माग रहेको बताए ।
उनले आफूहरुको माग सुनुवाई नभएसम्म प्रदर्शन जारी राख्ने चेतावनी दिए । यसअघि बूढानीलकण्ठ नगरपालिकामा बसाइसराइको नक्कली कागजातका आधारमा मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ ले निर्वाचन आयोगमा उजुरी दिएको थियो ।