काठमाडौं फेरि फोहोरमाडौं बन्न पुगेको छ । सहरका भित्री भागमा मात्र होइन मूल सडकमा समेत फोहोरको डुंगुर थुपारिएको छ । फोहोरको थुप्रोबाट कुहिएको गन्ध र तरल पदार्थ सडकमा निस्कन थालेको छ ।
अर्थात्, सहर महामारीको जोखिममा छ । यसैले काठमाडौं महानगरपालिकालगायत सरकारका सबै निकाय र सर्वसाधारण जनतासमेत फोहोरको व्यवस्थापनप्रति गम्भीर भएको हुनुपर्छ । परन्तु, कोही पनि खासै गम्भीर भएको देखिँदैन ।
यसरी नै जथाभावी फोहोर थुप्रिएर सहर दुर्गन्धपुर भएको थियो । केही दिन फोहोर उठाइयो पनि ।यसबीच महानगरपालिकाले ७ दिन सडकमा फोहोर ननिकाल्न र कुहिने र नकुहिने फोहोर छुट्टाएर राख्न सूचना दियो । महानगरपालिकाको उर्दी धेरैले मानैकै थिए ।
महानगरपालिकाको ७ दिने म्याद भने कहिल्यै सकिएन । फोहोर उठाउने सुरसारै भएन । अनि नगरवासीले पनि लत्तो छाडे । सडकका फोहोर थुपार्न थाले । धन्न, अझै धेरैले घरभित्रै फोहोर राखिरहेका छन् ।
तिनको पनि धैर्य टुट्न अब धेरै दिन नलाग्न सक्छ । महानगरपालिकाले ७ दिनमा बनिसक्छ भनेको बाटो अर्को ७ दिनमा पनि बनिसक्ने सम्भावना छैन । यसैले स्थिति निकै गम्भीर देखिन्छ ।
फोहोर उठाउन सिसडोल सडक बनुन्जेल पर्खने हो भने त्यसअघि नै काठमाडौंमा फोहोरबाट हुने सङ्क्रामक रोग फैलनसक्छ । अर्थात्, तत्काल जसरी पनि फोहोर व्यवस्थापन नगरी सुख छैन ।
महानगरपालिकामा नयाँ नेतृत्व आएपछि कार्यशैलीमा परिवर्तन हुने अपेक्षा नगरवासीले गरेका थिए । फोहोर व्यवस्थापनमा देखिएको अल्लारे र हचुवा प्रवृत्तिका कारणसमेतले नगरवासी निराश हुनथालेका छन् ।
महानगरवासीको विश्वास मर्न नदिने हो भने जनप्रतिनिधिहरूले फोहोर व्यवस्थापनमा तदारुकता र सुझबुझ देखाउनु पर्यो । विशेषगरी कुहिने फोहोर सडकमा थुप्रिन दिनु भएन । सूचना जारी गर्नेमात्र होइन फोहोर गर्नेलाई कानुनबमोजिम कारबाहीसमेत गर्नुपर्छ ।
कुहिने फोहोर सडकमा फाल्नेलाई कारबाही गर्नुपूर्व महानगरपालिकाले त्यस्तो फोहोर व्यवस्थापनका उपायहरू खोज्नुपर्छ । नकुहिने फोहोर केही दिन घर कम्पाउन्डमै राख्न नगरवासीलाई मनाएर कुहिने फोहोर तह लगाउने उपाय खोज्नसकिन्छ ।
फोहोर व्यवस्थापनकै कारण महानगरपालिकाप्रति नगरवासीको विश्वास डगमगाउन सुरू भइसकेको छ । त्यसलाई फर्काउन नसके नगरवासीको सहयोग पाउन कठिन हुनेछ । फोहोरबाट कमाइरहेका व्यवसायीले पनि यस्तो समयमा महानगरपालिकालाई सहयोग गरून् ।
उपत्यकाका नदीका बगरहरूमा र अरू खाली ठाउँमा खाडल खनेर कुहिने फोहोर पुरेमा केही समयका लागि व्यवस्थापन हुनसक्छ । वडाहरूभित्रका खाली ठाउँमा पनि फोहोर खाडलमा पूर्न सकिन्छ । नगरवासीले पनि कुहिने फोहोर जथाभावी नफाल्नु अपराधमात्र होइन पाप पनि हो ।
महानगरपालिकाका नयाँ जनप्रतिनिधिहरू पुरानाभन्दा फरक छन् भन्ने साबित गर्न उनीहरूले कामबाटै फरक देखाउनुपर्छ । सिसडोलको बाटो बनिसकेपछि फोहोर उठाउन त जनप्रतिनिधि नै चाहिँदैनन् । समय छँदै आफ्नो औचित्य सिद्ध गर !