बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले ताला लगाएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले एक पक्षीय ढंगल काम गरेको आरोप लगाउँदै एमालेबाट निर्वाचित उपप्रमुख जगेश्वरी चौधरीको नेतृत्वमा गएका जनप्रतिनिधिहरूले उनको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
उपप्रमुख चौधरीले प्रशासकीय अधिकृत ज्ञवालीले नियोजित रूपमा नगरसभाका एकैदिनका कांग्रेस र एमालेका जनप्रतिनिधिलाई अलग अलग उपस्थिति गराउने गरेको आरोप लगाइन् ।
"आज बोलाइएको नगरसभाको चौँथो बैठकमा सबै जनप्रतिनिधि उपस्थित भएपनि एमालेका ४२ जना प्रतिनिधिले हस्ताक्षर गरेपछि कांग्रेसका उपस्थित भएर पनि हाजिर गरेनन् । एमालेका उपस्थित बाँकीलाई हस्ताक्षर गर्न दिइएन । यो काम प्रमुख प्रशासकीय अधिकृतको योजनामा भएको हो," चौधरीले भनिन्।
यसअघि नगरप्रमुखले सभा स्थगित गरेपछि उपप्रमुख चौधरीको नेतृत्वमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगर प्रमुखविरुद्धमा नाराबाजी गरेका थिए । उपप्रमुखको नेतृत्वमा नगर प्रमुख खाँण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीमाथि आक्रमणको प्रयास गरेपछि प्रहरीले सुरक्षा दिएको थियो ।
तिलोत्तमामा नगर प्रमुख र १७ मध्ये ९ वडाध्यक्ष जितेको कांग्रेस नगर कार्यपालिका र नगर सभामा अल्पमतमा छ । एमाले उपप्रमुख र ८ वडा अध्यक्षसहित नगरसभाको ४८ पद जितेर बहुमतमा छ । पटक–पटक विवादका कारण नगरसभा स्थगित हुँदा तिलोत्तमाको बजेट पारित हुन सकेको छैन ।
यसअघि असार ३१ गते नगरसभाको बैठकबाट बजेट पारित गर्ने तयारी थियो । तर, उपप्रमुख चौधरी सभामा उपस्थित भएपनि मञ्चमा नगएर विरोधमा उत्रिएपछि बैठक स्थगित भएको थियो ।
नगरसभा सोमबार बस्ने गरी बोलाइएको छ।