काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारत भ्रमणमा फलदायी र उपलब्धिमूलक भेटवार्ता भएको बताएका छन् । आइतबार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँगको भेटपछि प्रचण्डले भाजपा अध्यक्ष नड्डासँगको भेटमा भाजपाले गरिरहेको कार्यालय व्यवस्थापनको बारेमा कुराकानी भएको बताए ।
कार्यालय व्यवस्थापनबारे बुझ्दा आफू उत्साहित भएको उनको भनाइ छ । दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउन विषयमा सहमति भएको उनले बताए ।
"म भारत आएदेखि नै निकै राम्रो वातावरणमा फलदायी र उपलब्धिमूलक कुराकानी भइरहेको छ । संसारको सबैभन्दा ठूलो जनीतिक पार्टीको रूपमा स्थापित भारतीय जनता पार्टीको अध्यक्ष जेपी नड्डाजीसँग कुरा भयो । यहाँको अफिस म्यानेजमेन्ट कसरी चलेको छ ? त्यहाँ व्यवस्थापन कस्तो छ भन्ने बारेमा बुझ्दा म उत्साहित भएको छु । दुई पार्टी र दुई देशको सम्बन्ध बलियो
बनाउनका लागि राम्रोसँग सम्बन्ध बलियो बढाउनुपर्छ, भन्ने नड्डाजीको प्रस्तावलाई मैले समर्थन गरेको छु । कहिले बीजेपी र कहिले माओवादीको निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रमहरू संयुक्त रूपमा गर्ने भन्ने समझदारी पनि भएको छ," उनले भने ।