काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने छुट्टिएको फोहोर मात्र संकलन गर्न थालेको छ । महानगरको तालिकाअनुसार भित्री सहरी क्षेत्रबाट निकालिएको कुहिने फोहोर संकलन गर्न थालिएको हो ।
फोहोर उत्पादकलाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै भाँडामा संकलन गर्न, तोकिएको समय र सवारीसाधनमा मात्र फोहोर दिन आग्रह गरिएको छ ।
काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले साँघुरा कोठामा बस्ने नागरिकलाई सहजीकरणको प्रयास गरिने बताए । “एउटा मात्रै कोठामा परिवार नै बसेर जीवन गुजारा गरिरहेकाहरूलाई बेग्ला–बेग्लै फोहोर संकलन गर्ने ठाउँ अभाव हुन्छ । तर, तत्कालका लागि तपाईंहरूको जस्तै महानगरको पनि सीमितता छन्,” उनले भने, “साँघुरा कोठामा बस्ने नागरिकलाई सहजताका लागि महानगरले प्रयास गर्नेछ । अहिले जेजति स्रोत र साधनहरू छन्, ती सबैको अधिकतम प्रयोग गर्दै फोहोर व्यवस्थापन गर्न पहल गरौँ ।”
महानगरवासीले उत्पादन गरेको फोहोरका कारण कतिपय मानिस रोगी र नारकीय जीवन बिताइरहेको उनले बताए । “यसलाई रोक्ने जिम्मेवारी तपाईं हाम्रै हो । अबदेखि कुहिने र नकुहिने फोहोरलाई अलग–अलग भाँडोमा संकलन गरिदिनुहोला,” उनले भने, “तालिकाअनुसार आएका फोहोर संकलन गर्ने गाडीहरूमा सोहीअनुसार फोहोर दिनुहोला । हामीले फोहोर संकलन गर्ने तालिकालाई क्रमशः थप सहज र वैज्ञानिक बनाउँदै जानेछौँ ।”
महानगरले संकलित फोहोर उठाउन दुई रुट बनाएको छ । पहिलो रुटमा आइतबार र बुधबार कुहिने फोहोर संकलन गरिनेछ भने मंगलबार नकुहिने फोहोर उठाइनेछ ।
दोस्रो रुटमा सोमबार र बिहीबार कुहिने फोेहोर र शुक्रबार नकुहिने फोहोर उठाइनेछ । यसरी हप्ताको चार दिन कुहिने फोहोर र दुई दिन नकुहिने फोहोर संकलन गर्ने तालिकाअनुसार आज कुहिने फोहोर संकलन गरिएको छ ।
संकलन गरिएको फोहोर प्रकृतिअनुसार ल्यान्डफिल साइटमा पुर्याइनेछ । त्यसरी लगिएको फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गरिनेछ ।
आजदेखि कसैले मिसिएको फोहोर निकाले एकपटकमा ५०० रुपैयाँसम्म जरिवाना गरिनेछ ।
उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ । जैविक फोहोरबाट गड्यौले वा कम्पोस्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरको अनुरोध छ । नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्न सकिन्छ । पुनः चक्रिय फोहोर कवाडी संकलकलाई बेचेर आय–आर्जन समेत गर्न सकिनेछ ।
महानगरले भनेको छ, “भान्छामा फोहोर उत्पादन हुने बेलामै कुहिने र नकुहिने गरी दुई भागमा बाँड्न सकिन्छ । यसो गर्यो भने त्यसपछि व्यवस्थापनका पक्षमा सजिलो हुन्छ । अब प्लास्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोग बढाउनुपर्छ ।”