काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सभापतिलाई बलियो बनाउने नाममा कचौरामा तेल बोकेर जान नसकिने बताएका छन् ।
जारी केन्द्रीय समितिको बैठकमा उनले यस्तो धारणा राखेका हुन् । गुरुङले सभापतिलाई वैचारिकरुपमा बलियो बनाउन खोजेको तर खुट्टा नटेकेको बताएका थिए ।
उनले केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापालाई बहिस्कार गर्ने चेतावनी केहीले दिएको भन्दै गगन नभएको भए एमसीसी कसरी पास हुन्थ्यो ? भन्दै प्रश्न गरेका थिए ।
“अहिले गगनलाई बहिस्कारको चेतावनी दिने ?,” उनले भने, “गगनले नेतृत्व नगरेको भए एमसीसी पास गर्ने हिम्मत थियो ? अहिले केही साथीहरु सभापतिको नाकमा झिँगा बसेको छ भनेर तरबार बोकेर हिँडेका छन्, तरबारले हान्दा झिँगा मर्छ कि के हुन्छ सभापतिज्यू ?”
गुरुङले यसो भनेपछि देउवाले आफ्नो नाकमा झिँगा नबसेको बताएका थिए । “निदएको बेला झिँगा बसेको थाहा हुँदैन सभापतिज्यू,” गुरुङको भनाई थियो ।