काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् ।
केन्द्रीय समितिको शनिबार बसेको बैठकमा आफ्ना धारणा राख्दै महामन्त्री शर्माले अहिले नेतृत्वको प्रशंसा गर्ने नाममा घण्टी नबजाउन आग्रह गरेका हुन् ।
“हामीले ६ महिनामा विभाग बनाऔँ भनेको सहयोग हो कि असहयोग ?,” उनको टिप्पणी थियो, “हजारौं युवा जिम्मेवारीविहीन छन् पूर्णता दिऔँ भनेको असहयोग हो ?”
उनले पदाधिकारीको कार्यविभाजन गर्ने अधिकार सभापतिमा निहीत छ त्यो गरौँ भनेर आग्रह गरेको पनि असहयोग हो ? भन्दै प्रश्न गरेका थिए ।
उनले नेतृत्वसँग विमती राख्नेहरुले होटलमा भेला गर्न हुन्थ्यो कि हुँदैनथ्यो भन्ने फरक कुरा भएको टिप्पणी गर्दै जसले नेतृत्वको प्रशंसाको नाममा घण्टी बजाइरहेको छ त्यसले पार्टीलाई राम्रो नगर्ने बताए ।
“एउटा नेताको पक्षधरता राख्न अर्कोलाई थोरै होच्याउनेगरी बोल्नैपर्छ ?,” उनको धारणा थियो, “नेतृत्वको प्रसंसा गर्ने नाममा ॐ जय जगदिश हरे भन्दै घण्टी नबजाऔँ । आलोचना गर्ने नाममा डण्डी पनि नचलाऔँ ।”