काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वको सरकार छोडेर एकताका लागि आउन वामपन्थी राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । कांग्रेसको पुच्छर बनेर हिँडेर वामपन्थीबीच एकता गरेर जाने भन्ने कुरा हुनै नसक्ने उनको भनाइ थियो ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले वामपन्थी पार्टीबीच एकताका लागि ओलीलाई आग्रह गरेका थिए ।
सोही कार्यक्रममा त्यसको जवाफ दिँदै उनले कांग्रेस नेतृत्वको सरकार छोडेर आए मात्र वामपन्थी दलहरूबीच एकताका लागि आफू र आफ्नो पार्टी तयार हुने बताए । उनले कांग्रेसलाई छोडेर वाम एकताका लागि आउने हो भने आफूले मुलुकको हितमा काम गर्ने सरकार बनाउन चाहेको पनि बताए ।
“नेपालमा वामपन्थी पार्टीहरू छन् भने कांग्रेसका पछि नलाग्न, गठबन्धन छोड्न, देशघाती काम नगर्न अनि एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्दछु । चौँरीको पुच्छरजस्तो कांग्रेसको पुच्छर भएर हिँड्ने अनि वामपन्थी पार्टी भनेर हुन्छ ?,” उनले प्रश्न गरे, “खै वामपन्थी पार्टी ? कम्युनिस्ट सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ भनेर अदालतमा धाउनेहरू वामपन्थी ? म आग्रह गर्न चाहन्छु– कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, गल्ती भइहाल्यो छोडिदिऊँ । एमालेसँग मिलेर कांग्रेसविरोधी होइन, देशको पक्षमा, लोकतन्त्रको पक्षमा उभिएर काम गर्ने सरकार बनाऔँ ।”
ओलीले नेपालको इतिहासमै सबैभन्दा बढी मुलुकको राष्ट्रियता र स्वाभिमानमाथि हुर्मत लिने काम गरेको भन्दै सरकारको चर्को आलोचना गरे ।
राष्ट्रको हितमा काम गर्दा आफूले दुईपटक नै सरकारको नेतृत्व छोड्नुपरेको गुनासो समेत उनले गरे ।