काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सभापतिलाई बलियो बनाउने नाममा ‘कचौरामा तेल बोकेर जान नसक्ने’ टिप्पणी गरेका छन् । पार्टी बैठकमा आरोप–प्रत्यारोप गरिएकोप्रति पनि उनले असन्तुष्टि जनाए ।
सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा शनिबार उनले पार्टीलाई वैचारिक रूपमा बलियो बनाउनुपर्ने र आफूहरूले त्यही गरिरहेको बताए ।
“पार्टी बैठकमा वादी–प्रतिवादीझैँ भएर आउनुभएको छ, यसले पार्टी बन्छ ? सभापतिको हात बलियो बनाउने भनेर तेलको कचौरा लिएर सभापतिको पाखुरामा लाउन सकिन्न,” उनले भने, “बलियो बनाउने भनेको वैचारिक रूमा बनाउने हो । हामीले त्यही गरेको हो । वैचारिक रूपमा बलियो बनाउन हिँडेका गगन (थापा)लाई बहिष्कार गर्छु भन्ने ? गगनले लिड नगरेको भए एमसीसी पास गर्ने हिम्मत थियो ? अहिले साथीहरू सभापतिको नाकमा झिँगा बसेको छ भनेर तरबार बोकेर हिँडिरहेका छन् । सभापतिजी, तरबारले हान्दा झिँगा मर्छ कि हो ?”