काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेता शेखर कोइराला पक्षले गरेको गुट भेलाको विरोध गरेर मात्र सबै समस्याको समाधान नहुने बताएका छन् ।
सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा शनिबार उनले सभापति शेरबहादुर देउवाले इतर समूहलाई पनि मिलाउनुपर्नेमा जोड दिए ।
“शेखर कोइरालाले गरेको गुट भेलाको विरोध गरेर मात्र सबै समाधान हुँदैन,” उनले बैठकमा भने, “अरू पार्टी मिलाएजस्तै सभापति देउवाले इतर समूह मिलाउनुपर्छ ।”
अर्का सहमहामन्त्री जीवन परियारले पनि सबै तहमा पार्टीका प्रतिस्पर्धीहरूलाई सम्मान गर्नुपर्ने र दलभित्र समेत सहमति गरेर जानुपर्ने बताए । देउवा र कोइरालाबीच सहकार्य भए मात्र सकारात्मक परिणाम आउने उनले उल्लेख गरे ।
यस्तै, सहमहामन्त्री महेन्द्र यादवले धेरै भागबन्डा खोज्न नहुने बताए ।