काठमाडौंको त्रिभुवन पार्क र चोभार चलचित्र छायांकनका केन्द्र थिए । पार्कको सिन चाहिए त्रिभुवन पार्क, डाँडा र भीर चाहिए चोभारको विकल्प नै छैनजत्तिकै थियो । त्यही त्रिभुवन पार्कनजिकै दहचोकमा थियो दिनेश (राउत)को घर र स्कुल ।
त्रिभुवन पार्कमा छायांकनका लागि सुटिङ युनिटहरू आइरहन्थे । दिनेश हेर्न गइरहन्थे । शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, करिष्मा मानन्धर, निरुता सिंहलाई उनी देखिरहन्थे । निर्देशकको एक्सन–कट र हिरो, भिलेनको मारधाडमा उनको चाख थियो । गीत, नृत्य अनि समूहको काम, चलचित्रको रंगिन दुनियाँ देखेर दिनेशलाई लाग्थ्यो, कस्तो रमाइलो चलचित्रको काम । यसमा आफूलाई मिसाउन पाए ! स्वैरकल्पनामा हराउँथे दिनेश ।
०५१ को एक दिन दिनेशलाई साथीले भन्यो, ‘जाऊँ हिँड् नृत्य सिक्न ।’
दिनेशलाई नृत्य हैन, अभिनयमा दिलचस्पी थियो । दिनेशले भने, ‘तँ नृत्य सिक, म एक्टिङ सिक्छु ।’
साथीले नृत्य सिक्न थाल्यो । तर, अभिनयको कक्षा रहेनछ । विकल्प भेटिएन । दिनेश पनि नाँच्न थाले । नाच्न सिकाउने इन्स्टिच्युट थियो शोभित बस्नेतको ।
कोरस डान्सर
नृत्य सिकेपछि दिनेश स्थानीयस्तरमा हुने सांस्कृतिक कार्यक्रममा नाच्न थालेका थिए । नाटकहरु हुन्थे, अभिनय गर्न थालेका थिए । शोभितसँग चिनजान भएकाले कोरस डान्सका लागि बोलाउन थालेका थिए । दिनेश जान थालेका थिए । कोरसमा पनि अन्तिमदेखि लिडसम्म आइपुगे । भुवन केसीको ‘नेपाली बाबु’मा उनले कोरस गरेका छन् । त्यसपछिका आधा दर्जन चलचित्रमा उनले कोरस गरे । कुन–कुन ? नाम त उनले नै बिर्सिइसके । सम्झिऊन् पनि कसरी, पज गरेर हेर्दा पनि सायदै आफैँले आफैँलाई देख्लान् ।
डान्स गर्दा अरूले यसो गर, त्यसो गर भनेको देख्दा उनलाई ईष्र्या लाग्थ्यो । कति जान्ने, कति ठूलो मान्छे ? अनि, दिनेश संकल्प गर्थे– म अरूले यसो गर, त्यसो गर भन्दा मान्ने मान्छे होइन, त्यस्तै अह्राउने/सिकाउने मान्छे बन्छु ।
राम्रा अक्षरको कमाल
सुटिङ हेर्न गयो मनै आनन्द हुने । संसार बिर्सिने । त्यसमै हराउने । हेरेरै मक्ख पर्ने । उनलाई लाग्यो, म पनि यो युनिटमा हुनुपर्छ । शोभित भौगोलिक हिसाबले त थानकोटका थिए नै, उनको कर्म पनि चलचित्र क्षेत्र नै थियो । त्यसैले शोभितलाई राम्रोसँग चिनेका दाइमार्फत ‘ज्याक’ लगाए । शोभितले सोधे, ‘के काम जानेको छ सिनेमाको ?’
‘केही छैन ।’
‘अनि, कसरी काम गर्ने त सिनेमाको ?’
जवाफ थिएन दिनेशसँग । मात्र मनभरिको रहर थियो । शोभितले फेरि सोधे, ‘तिम्रो अक्षर कस्तो छ ?’
दिनेशलाई पर्यो चिट्ठा ! उनका नेपाली अक्षर झन्डै–झन्डै टाइपसरह राम्रा थिए । दिनेशले भने, ‘राम्रो छ ।’
‘त्यो भए भोलि आऊ ।’
बल्ल काम पाइयो । खुसीले शिखर चुम्यो । “कसरी त्यो खुसी आज म सुनाऊँ ?” आज पनि त्यो खुसीको पल व्याख्या गर्ने दिनेशसँग पर्याप्त शब्द छैनन् ।
शोभितले दिनेशलाई थानकोटबाट सुन्धाराको एउटा होटेलमा लिएर आए । स्क्रिप्ट सार्न दिए, टेली चलचित्र ‘डायरी’को । “त्यो बेला अहिलेको जस्तो टाइप गर्ने चलन थिएन । हातैले स्क्रिप्ट लेख्ने चलन थियो,” सम्झनाका पत्र पल्टाए दिनेशले, “त्यो होटेलमा सात दिन सात रात बसेर स्क्रिप्ट राम्रो अक्षरमा सारेँ ।”
‘डायरी’ छायांकनमा जाने निधो भयो । छायांकन हुने भयो नुवाकोटको त्रिशूलीमा । शोभितले भने, ‘तिमी मेरो असिस्टेन्ट भयौ, जाऊँ हिँड त्रिशूली ।’
‘के खोज्छस् कानो, आँखो’ । खोजेकै त्यही, किन नहुनु ! खुसीले पखेटा हाल्यो । सँगै गाडी चढेर त्रिशूलीतिर लागे दिनेश, त्यो पनि सुटिङ युनिटको सदस्य भएर ।
“त्यही बेला हो म काठमाडौं उपत्यका छोडेर पहिलोपटक बाहिर गएको,” दिनेशले सम्झनाको तरेली छिचोल्दै भने, “त्रिशूलीको अत्यासलाग्दो त्यो गर्मीले म यसरी छटपटिएँ, यो ठाउँ दोहोर्याएर कहिल्यै आउनु नपरोस् भन्ने भयो ।”
स्क्रिप्ट चट्ट सफा पारेर सारेकै भरमा दिनेश निर्देशकको असिस्टेन्ट भए । उनी आफैँ भन्छन्, “सिनेमाको त मलाई केही थाहै थिएन । छायांकन हेरेको मात्रै हो । पर्दामा एकाध सिनेमा हेरेको मात्रै थिएँ ।”
चिफ असिस्टेन्ट डाइरेक्टर
‘डायरी’पछि दिनेशले शोभितकै अर्को टेलिशृंखलामा पनि काम गरे । नाम के थियो ? त्यो त सम्झनाको पत्रबाट विलीन भइसकेछ ।
शोभित त्यो समयको चल्तापुर्जा निर्देशक । ‘बारुद’ निर्देशन गर्ने भए । ‘बारुद’मा दिनेश शोभितको चिफ असिस्टेन्ट डाइरेक्टर भए । अन्तिम निर्णय त शोभितको हुने नै भयो । तर, काम आह्राउ–खटाउ गर्ने थोरबहुत मौका दिनेशको भागमा पनि प¥यो । एक छेउ भए पनि रहर पूरा भयो ।
दिनेशले चलचित्र निर्देशनको बाह्रखरी ‘बारुद’बाटै सिके । ‘बारुद’बाट शोभितसँग मात्र होइन, दिनेशको आत्मीयता चलचित्रसँग पनि झाँगियो ।
सुदर्शन थापा दिनेशका संघर्षकालका साथी । उनीहरू दुवै प्रोडुसरको खोजीमा थिए । जसले प्रोडुसर पाए पनि चलचित्र निर्देशनमा सहयोग गर्ने कुरा थियो । सुदर्शनले चलचित्र पाए । उनी निर्देशक हुने भए । दिनेश उनको चिफ एडी । तर, एक दिन सुदर्शनले भने, ‘तिमीलाई मैले सेटमा यो/त्यो गर भनेर काम अह्राउनुपर्छ । त्यो कसरी सम्भव हुन्छ, हुँदैन । तिमी मेरो चिफ एडी हुँदैन ।’
‘काम गर्ने हो । यो मेरा लागि पनि सिक्ने अवसर हो, केही फरक पर्दैन ।’ सुदर्शनलाई सहज वातावरण बनाइदिए दिनेशले । ‘मेरो एउटा साथी छ’मा दिनेश चिफ एडी भए ।
सिनेमाको छायांकन गर्दागर्दै सुदर्शनले चलाएको मोटरसाइकल दुर्घटना भयो । उनको पछाडि बसेका साथी/सहकर्मीको मृत्यु भयो । मृतकका आफन्तले सुदर्शनविरुद्ध प्रहरीमा उजुरी दिए । त्यसपछि प्रहरीको लफडामा मुछिएका सुदर्शनको अनुपस्थितिमा १२ दिन दिनेशले टिमको क्याप्टेनसिप सम्हाल्दा चलचित्रको कखरा थप बुझ्ने मौका पाए । भलै, यसको जस उनी लिन चाहँदैनन् । यसबारे उनी खासै खुलेर कुरा गर्दैनन् ।
त्यो अफेयर
उमेरै त्यस्तै, दिनेश रश्मी तिमल्सेनासँग अफेयरमा थिए । रश्मीको पूरै परिवार जापानमा थियो । अफेयरको तीन वर्षपछि उनी पनि जापान उडिन् ।
अहिलेको जस्तो नेट सहज र सुलभ थिएन । त्यसैले सुरु भयो दिनेशको साइबर यात्रा । उनी प्राय हरेक दिन साइबर जान्थे । दिनको तीनदेखि चार घण्टा रश्मीसँग गफिन्थे ।
“मिनेटको १५ रुपैयाँ शुल्क थियो । मैले साइबरमा दिनको तीन हजार/३५ सयसम्म तिर्थेँ,” फिल्मी निर्देशक दिनेश डेढ दशकअगाडिको प्रेमको यात्रा सुनाउँछन्, “चार वर्ष मैले यसैगरी बिताएँ । ५/६ लाख रुपैयाँ साइबरमै सकाएँ ।”
दिनेशलाई उतै लैजाने रश्मीको योजना थियो । दिनेश भने ठिक उल्टो प्रस्ताव राख्थे, ‘तिमीचाहिँ नेपाल आऊ ।’
हरेक दिन अधिकांश समय उनीहरूको यस्तैमा बित्थ्यो । दिनेश भन्थे, ‘म फिल्म छोडेर जापान आउन सक्दिनँ ।’
रश्मी भन्थिन्, ‘म नेपाल आउन चाहन्नँ । तिमी जसरी पनि जापान आउनैपर्छ ।’
त्यसपछि सुरु हुन्थ्यो नोकझोक । चार वर्ष लामो विवादमा कहिले–कहिले रश्मी दिनेशलाई अप्ठ्यारो पार्थिन्, ‘तिमी कि मलाई रोज कि फिल्म । कसलाई रोज्छौ ?’
दिनेशले यो प्रश्नको जवाफ कहिल्यै दिन सकेनन् । कारण, रश्मीजत्तिकै उनका लागि फिल्म पनि प्यारो थियो । मनमा रश्मी थिइन् भने मस्तिष्कमा फिल्म । यी दुईलाई आज पनि सँगसँगै बोकेर दिनेश हरेक दिन काठमाडौंका गल्लीहरू नापिरहन्छन् ।
मायाको लडाईंमा तपाईंले जित्नुभयो ?
“जित र हारको त कुरा भएन, तर मैले कन्भिन्स गरेर उनलाई नेपाल फर्काएँ । चार वर्ष जापान बसेर उनी नेपाल फर्किइन्,” दिनेश आफ्नो प्रेमलाई नेपाल फर्काउन सफल भएको सम्झिन्छन्, “आज पनि म मेरो जीवनमा फिल्मबाहेक अरू केही देख्दिनँ । फिल्म नै मेरो जीवनको एउटै मात्र काम हो ।”
मात्र फिल्म
थुप्रै योजना र अफर लिएर दिनेशसामु थुप्रै मान्छे आए । दुईवटा रियालिटी शोका लागि उनले मोटो रकमसहित अफर पाए । तर, उनलाई फिल्म मात्र आफ्नो काम हो भन्ने लाग्यो । म्युजिक भिडियो र टेलिभिजनका थुप्रै काम उनीसामु आए । तर, उनी फिल्ममै रमाइरहन चाहे । उनी फिल्मका लागि लगाम लगाएको घोडासरह हुन् ।
आँखा खुल्यो
चलचित्र निर्देशन गर्नु थियो । कथा र निर्माताको खोजी थियो । चलचित्र बनिरहेकै थिए, नयाँ निर्देशकहरू पनि डेब्यु गरिरहेका थिए । तर, दिनेशलाई ती चलचित्रमा चित्त बुझिरहेको थिएन । केही फरक गर्नुपर्छ भन्ने हुटहुटी थियो । जब दिनेशले चलचित्र बुझ्न थालेका थिए, चिफ एडी भएर काम गरिसकेका थिए । उनलाई लाग्थ्यो– मैले निर्देशन गर्न पाए राम्रो बनाउने थिएँ ।
राम्रो कथा खोज्दै थिए । पाएकाबाट छान्दै थिए । प्रदीप भारध्वजले स्टोरीलाइन सुनाए । स्टोरीले दिनेशको मन खिच्यो । हरि महत दिनेशले चिनेका साथी । उनलाई स्टोरी सुनाए । हरिले भने, ‘म प्रोड्युस गर्छु ।’
दिनेशले आँट गरे निर्देशनको । ०६७ मा सुरु भयो, ‘आईएम सरी’ । अनि, महसुस गरे– निर्देशन सोचेजस्तो सहज कहाँ रहेछ र । समूहमा गरिने काम, एउटाले बिगारे पूरै चलचित्र बिग्रिने । सबैको उस्तै सोच, बराबर मिहिनेत र लगाव कहाँ हुन्छ र ? हुँदैन । भएन ।
समीक्षा नै स्कुल
चलचित्र रिलिज भएपछि समीक्षा आयो । अनि, दिनेशले पत्तो पाए– ओहो, आउँछ मलाई सिनेमा बनाउन भन्थेँ, भ्रम पो रहेछ ! कथा, लाइट, साउन्ड, कलर, सिनेमेटोग्राफी सबैतिर कमेन्ट नै कमेन्ट । ‘सिक्न त अझै होइन, सबै बाँकी नै पो रहेछ,’ उनले अनुभूत गरे ।
समीक्षा आउन थाले । रिट्ठो नबिराई पढ्न थाले । जेमा आओस्, जसले लेखेको होस्, अक्षरशः पढे । उनलाई लाग्यो, मेरै लागि त हो यो । सच्चिने र सच्याउने मौका हो । सिक्ने मौको हो । फेरि गल्ती नदोहोर्याउने अवसर हो । अनि, संकल्प गरे– सुझाव मेरा लागि शिरोधार्य छ । सच्याउँदै जान्छु । सच्चिँदै जान्छु ।
सिनेमाको स्कुल, कलेज कतै नपढेका दिनेशका लागि समीक्षा नै वास्तवमा स्कुल लाग्छन् रे ! त्यसयता उनी आफ्नो मात्र होइन, हरेक चलचित्रका समीक्षा पढ्छन् । त्यसबाट आफूले के लिन सकिन्छ, लिन्छन् ।
“म प्रायः धेरै समीक्षकसँग नजिक छु । भेट्छु । उहाँहरूका कुरा सुन्छु र उहाँहरूबाट के लिने हो लिन्छु,” दिनेश भन्छन्, “हरेक समीक्षा मेरा सिकाइ हुन् । गुरु हुन् । त्यसैले मेरा चलचित्रमा जस्तोसुकै समीक्षा आओस्, म त्यसको प्रतिवाद गर्दिनँ । मलाई लाग्छ, समीक्षामा केही न केही कुरा सिक्न लायक हुन्छन् नै, जुन मैले सिक्न र गर्न बाँकी छ । ती कुरा मैले आत्मसात् गर्नैपर्छ । म कसैका कुरा सुन्दिनँ र सिक्न तयार भइनँ भने त कसरी ग्रो हुन सक्छु र ? सक्दिनँ ।”
समीक्षा नै गुरु, समीक्षा नै स्कुल, समीक्षक नै साथी । तिनैमध्येका एक गोकर्ण गौतम (फिल्म समीक्षक)सँग उनको भेट सन्जोगले एक दिन अनामनगरमा भयो । ‘प्रकाश’ भर्खर निर्माणको घोषणा गरेका थिए दिनेशले । गोकर्णले भने, “प्रकाशबाट मैले धेरै अपेक्षा गरेको छु । तपाईंको ग्रोथ हुँदै छ भन्ने यो चलचित्रको घोषणाले मात्रै पनि देखाउँछ । पहिलो शो नै हेर्छु यो चलचित्र ।’
यसो भनेको केही समयपछि नै एक दिनको मध्याह्न दिनेशको कानमा खबर ठोक्कियो– पत्रकार गोकर्ण गौतम अब हामी माझ रहेनन् ।
दिनेशले पत्याउनै सकेनन् । उनले तीन÷चार दिन काम गर्नै सकेनन् । उनी आज पनि भन्छन्, “त्यो दिन गोकर्णले आफ्नो परिवारलाई मात्रै छोडेर गएका थिएनन्, हामीले राम्रो समीक्षक पनि गुमाएका थियौँ । मलाई तीन/चार दिनसम्म उसले भनेका कुरा झल्झली सम्झनामा आइरह्यो । मैले उसलाई चलचित्र प्रकाश देखाउनै पाइनँ भन्ने खुनखुन भइरह्यो ।”
मोडिएको बाटो
गोकर्णले भनेझैँ दिनेशले आफूलाई ‘ग्रोथ’ गर्दै लगेको निश्चय नै हो । भलै, उनले अझै धेरै गर्न बाँकी छ । तर, उनी जहाँबाट ‘प्रकाश’सम्म आइपुगे, यो पक्कै ठूलो बदलाव भने हो । शोभित बस्नेतका चलचित्र फुल कमर्सियल हुन्थे । त्यही स्कुलिङबाट आएका दिनेश आज आर्ट मुभीमा कमर्स खोज्दै छन् । ‘प्रसाद’ र ‘प्रकाश’ यसका उदाहरण हुन् । कमर्सियल चलचित्रबाट आर्ट हाउस मुभीमा आइपुगेका उनले बाटो कसरी मोडे ?
“हिजो म जुन कुरामा इन्टरटेन गर्थेँ र यही नै मेरो गन्तव्य हो भन्थेँ, आज त्यसमा म दुई मिनेट पनि अडिन सक्दिनँ । हिजो जे कुरालाई प्राप्ति ठान्थेँ, आज त्यो सत्य होइन रहेछ भन्ने लाग्छ,” दिनेश भन्छन्, “यो बदलाव र मोडिएको बाटोको कारण चलचित्र समीक्षा नै हो । यदि, चलचित्रको समीक्षा नै लेखिँदैन थियो, अथवा त्यसमा मेरो भरोसा नै हुँदैन थियो भने मेरो बाटो पनि बदलिने थिएन ।”
लभस्टोरी जानरामा राम्रो चलचित्र बनाउन सक्ने निर्देशक थपियो भनेर पहिलो फिल्मबाटै थोरबहुत प्रशंसा बटुलेका दिनेश अहिले आर्टभित्र कमर्सको खोजीमा छन् । बाटो बदलेका उनी अहिले त्यसका लागि संघर्ष गरिरहेका छन् । “जिन्दगी भन्नु नै सिकाइ, संघर्ष, यात्रा र गन्तव्य त रहेछ,” कुराकानीको बिट मार्छन् दिनेश, “योभन्दा अझै राम्रो हुन्छ कि भनेर थिएटरमा आउनु अघिल्लो दिनसम्म चलचित्रमा थप्यो, घटायो, रंग्यायो, मस्कायो, चम्कायो । यसैगरी त रहेछ सिक्ने । सिक्दै छु, गन्तव्य पहिल्याउँदै छु ।”