काठमाडौं । साहित्यकार ममता मृदुलद्वारा लेखिएको समालोचनाहरूको संग्रह ‘समकालीन लघुकथा विवेचना’ एक समारोहकाबीच सार्वजनिक गरिएको छ ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा ममताद्वारा लिखित उक्त पुस्तक आख्यानकार पद्मावती सिंहले सार्वजनिक गरिन् । पुस्तक सार्वजनिक गर्दै प्रमुख अतिथि सिंहले आफूले थुप्रै कथा लेखेपनि लघुकथा दसवटा मात्रै लेखेको सम्झना गरिन् ।
सिंहले भनिन्, "बहिनी पुस्ताले हामीलाई उछिनेर साहित्य सिर्जना गर्दै अगाडि बढेको हेर्न मन छ । म सबैलाई शुभकामना दिन्छु ।"
लघुकथा समाज नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा प्रा.डा. सावित्री कक्षपतिले ममताले समालोचनासंग्रह प्रकाशित गरेकोमा बधाई दिँदै उनको कार्यबाट आफू प्रेरित भएको बताइन् ।
कार्यक्रममा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयकी प्रमुख विष्णुकुमारी भट्टराई, साहित्यकारहरू प्रमोद प्रधान, प्रभात दीक्षित, श्रीओम श्रेष्ठ रोदन, रामप्रसाद पन्त, तलुसीहरि कोइरालालगायतले बोलेका थिए ।