यो आत्मसंस्मरणको शुरुवात विराटनगरको बसाइबाटै भएको हो । शुरुमा साठी वर्ष नपुगी आत्मसंस्मरण नलेखौँ भन्ने सोचेको थिएँ, कुनै सम्मान पनि लिन मन थिएन । परन्तु, ‘उन्नयन’का लागि अच्युतमरण अधिकारीले पनि धेरैपटक संस्मरण लेख्न अनुरोध गर्नुभयो । फेरि विराटनगरमा दधिराजजीले दोहोर्याउनुभयो, ‘यौटा सानोतिनो संस्मरण पाऊँ ।’
अनि मैले आफ्नो जीवनका, जागिरका संघर्षका साँचा कुराहरू लेख्दै जाने विचार गरेँ । बी.पी. कोइरालाको उपन्यास ‘तीन घुम्ती’बाट शीर्षक लिएँ । तीन घुम्तीमा इन्द्रमायाको जीवनमा तीन मोडहरू आएका थिए । मैले पनि आफ्ना जीवनका तीन मोडहरू वा घुम्तीहरूलाई पाठकसमक्ष प्रस्तुत गर्ने विचार गरेँ ।
यौटा उमेरमा पुगेपछि, यौटा मोडमा पुगेपछि मात्र केही गरौँ भन्ने मेरो भावना अब ‘पुरानो’ भएछ । मलाई आफू ‘आउट मोडल’ भएको अनुभव भयो, कहीँ कतै केही विषयमा फिट नहुने ।
नेपालमा ओठ निचोरे दूध आउनेहरू देशको उच्चस्तरको ‘एकेडेमिसियन’ भएपछि, कुनै कविले पुतलीसडकबाट गाडी लिएर डा. तारानाथ शर्मालाई भेट्न बानेश्वरसम्म गएको राष्ट्रको ठूलो घटना भई संस्मरण नै लेखिएपछि, म लेख्न किन पछि परूँ ?
अझ वीरगञ्जबाट काठमाडौं आई कुनै साहित्यिक पत्रिकाको सम्पादकलाई भेटघाट र गफगाफ नै महत्त्वपूर्ण साहित्यिक घटना भई संस्मरण नै लेखिन्छ भने म पनि किन नलेखूँ ?
मेरो संस्मरणले के कस्तो महत्त्व नेपाली भाषा, साहित्यमा पाउला र ! म त्यस्तो योग्य व्यक्ति हुँ जस्तो आफूलाई लाग्दैन । फेरि पूर्व ४ नं. भोजपुरको निम्नमध्यम वर्गको एउटा सामान्य नेवार (यद्यपि म जातीयतामा विश्वास गर्दिनँ)ले यत्रो राष्ट्रमा के महत्त्वपूर्ण योगदान दिएको छ र !
तर पनि दधिराजजीले भन्नुभएपछि मभित्र निदाएको मेरो अतीतले मलाई एक्कासि झक्झकायो । म एकैपटक २०१५ सालको भोजपुर बजारमा पुगेँ ।
भोजपुरको विद्योदय हाइस्कुलबाट २०१४ सालमा एस.एल.सी. दिने मेरो समूह थियो । जसमा म अहिले पनि सम्झन्छु– कृष्ण जोशी, बी.बी. सुन्दास, डबल काजी ‘दुःखी’ (स्वर्गीय), भजोकृष्ण तमोट आदि ।
त्यसबेला एस.एल.सी. सेन्टर भोजपुरमा थिएन । परीक्षा दिन कि जानुपर्थ्यो धनकुटा, धरान र विराटनगर, अन्यथा काठमाडौं । म र कृष्ण जोशी, काका गजेन्द्रमणि, श्रद्धेय इन्द्रप्रसाद श्रेष्ठका साथ लागेर काठमाडौं पुग्यौँ ।
अहिलेजस्तो सिधा काठमाडौँ जान त्यो बेला कहाँ पाउनु ? भोजपुरबाट तीन–चार दिनको हिँडाइपछि धरान हुँदै विराटनगर पुगियो । जोगबनीको रेल चढी रक्सौल हुँदै वीरगञ्ज पुगेर अमलेखगञ्ज हुँदै भीमफेदी पुगियो । फेरि भीमफेदीबाट पैदल थानकोट हुँदै काठमाडौं पुगेको कुरा अहिले सम्झँदा एउटा सपनाजस्तो लाग्छ ।
नक्साल चारढुंगेको डेरा, काठमाडौंको जाडो, खर्चको धौ–धौ ! झण्डै तीन–चार महिना बसी एस.एल.सी परीक्षा सकेर भोजपुर घर आइयो । मलाई एउटा ठूलो राज्य जितेर आएजस्तो भयो ।
भरसक पहिलो श्रेणी नभए पनि दोस्रो श्रेणीमा पास हुन्छु भन्ने निश्चयमा थिएँ । त्यसबेलासम्म भोजपुरले पहिलो श्रेणीमा ल्याएको थिएन । मैले त्यो रेकर्ड राख्न सक्छु कि भन्ने विश्वासमा थिएँ । तर, २२ नम्बर नपुगी म उच्च दोस्रो श्रेणीमा पास भएँ । लगत्तै आफैँ पढेको विद्योदय हाइस्कुलमा अस्थायी शिक्षक भई काम गर्न थालेँ ।
एउटा १५ वर्षको ठिटो म ! आई. ए., आई. एस्सी. पढ्न जान पर्ने कहाँ कहाँ ? म त नोकरीमा पो लागेँ । घरको अवस्था नाजुक थियो । मैले बाहिर पढ्न जाने कुरा एकदमै असम्भव थियो ।
घरपायक जागिर पाएको– खुशी र गर्व दुवै थियो । एक–डेढ महिना धेरै मिहिनेतले पढाएँ । कक्षामा जानुअघि घरमा निकै तयारी गर्थें । आफूमा पूर्णआत्मविश्वास थियो–जागिर स्थायी हुनेछ र आफूले पढेको स्कुलमा आफैँ शिक्षक भई उदाहरण बन्नेछु ।
तर, एक दिन अवकाश पत्र अचानक हातमा पर्यो । ‘तपाईंको सेवा आवश्यक नभएको’ कुरा उल्लेख थियो । खाइनस् कि मास्टर जागिर !
त्यो मेरो पहिलो औपचारिक नोकरी थियो–पहिलो प्रेमजस्तै । स्कुलका सारा विद्यार्थीहरूले म केटाकेटी मास्टरलाई लात हानेर निकालेको जस्तो लाग्यो । म कैयौँ दिन घरबाट निस्कन सकिनँ । केही खान पनि मन लागेन । बिहानभरि कोठामा सिरकले मुख छोपेर रुन्थेँ । दिनभरि रोएर बस्थेँ र राति झन् डाँको छोडेर रुन्थेँ ।
कुनै पुस्तक, पत्रपत्रिका पढ्न पनि सकिनँ । मलाई आफ्नो सारा जिन्दगी समाप्त भएजस्तो लाग्यो । सारा बाटाहरू बन्द भएको अनुभव भयो । आफूले आफूलाई काम नलाग्ने ठानेर धेरै पिर गरेँ । उच्चशिक्षा अध्ययनका लागि बाहिर जानु पर्ने त कहाँ हो कहाँ, भएको जागिर समेत गएकाले म पहिरोले थिचिएको झुप्रो भएको थिएँ ।
मैले आफूलाई धिक्कारेँ, अरू धेरैलाई धिक्कारेँ । दुर्गम ठाउँ होम्ताङ्गमा मास्टर भएर नगएसम्म मेरो मन मानेन । मेरो यात्रा सिद्धिएन ।
मेरो जीवनको त्यो पहिलो मोड वा घुम्ती थियो, जसलाई सम्झन मलाई एक प्रकारको रमाइलो लाग्छ । ती दिन भोगेको निकै वर्ष पूरा भइसक्यो– तर त्यो अवकाश पाएको दिन, रातभरिको छट्पटी र पीडाले अहिले पनि मनको कुनै कुनामा आएर घोचिरहन्छ– उकुच पल्टिएको घाउजस्तै ।
फेरि म काठमाडौं गएँ–२०२४ सालमा साझा यातायातमा श्रद्धेय कविवर केदारमान व्यथितज्यूले जागिर ख्वाइदिनुभयो । जागिर खाँदै लोकसेवाको परीक्षा दिएँ, नभन्दै सर्वप्रथम भएँ । २०२६ सालको अन्तिम समय थियो । हाम्रो ७५ जनाको समूह थियो । पास हुनासाथ जागिर खान कहाँ पाउनु ?
त्यस बेला प्रधानमन्त्री हुनुहुन्थ्यो कीर्तिनिधि विष्ट । साझा यातायातको जागिर छाडेर श्री ५ को सरकारको सेवामा जाने भनेर उत्साह नै अर्को थियो । छिटो दिनुपर्यो भनेर लगभग ३ महिना प्रधानमन्त्रीकहाँ धाइयो ।
२०२७ वैशाखमा शाखा अधिकृतको सेवा प्रवेश तालिम सुरु हुने भयो । तालिमका लागि नामावली निस्क्यो, सामान्य प्रशासन मन्त्रालयमा । बाह्रपल्ट पढ्छु आफ्नो नाम छैन । आँखा तिरमिराएर आए । दिउँसै ताराहरू देख थालेँ । आफूले नदेखेको हुँ कि भनी साथीहरू रोशन खरेल, शैलप्रसाद महरा र टीकाराम अर्याललाई हेर्न लगाएँ । सबैले एकै स्वरमा भने, “तिम्रो नाम छैन । शायद प्रथम भएकाले तालिम दिन आवश्यक देखिएन कि !”
टाइप गल्ती भयो कि भनी सोधेँ– कोही पनि थाहा छैन भन्छन् । शाखा अधिकृतलाई सोध्यो, उपसचिवलाई भेट्न भन्छन् । उपसचिवलाई सोध्न गएँ । सहसचिव भन्छन् ।
पूरै दिन मैले सामान्य प्रशासन मन्त्रालयकै हरिहर भवन चहारेँ । तालिम सुरु भइसक्यो । आफूसँग पास हुनेहरू टोपी ढल्काएर फुर्तीसाथ तालिम लिन थालिसके । आफू भने तिनले देख्लान् कि भनेर भागीभागी हिँड्नुपर्ने भयो ।
बल्लतल्ल तल्कालीन सचिव कृष्णबहादुर देउजाको दर्शन पाएँ । उहाँले मुख खोल्नुभयो, “तपाईं त भेट्रान कम्युनिष्ट पो हुनुहुँदो रहेछ ! पुलिस रिपोर्ट त्यस्तै छ । तपाईंले जागिर पाउन सक्नुहुन्न ।”
म आकाशबाट गर्ल्यामगुर्लुम्म खसेजस्तै भएँ । एउटा ठूलो पहाडले मलाई थिचेजस्तो भयो । वास्तवमा म कुनै पार्टीको मान्छे थिइनँ । सबै शक्तिकेन्द्रहरूमा स्पष्टीकरण दिँदै हिँडे । तत्कालीन गृहसचिव क्षेत्रविक्रम राणाले हकारेर भन्नुभयो, “मेरो पुलिसले देखेपछि तँ कम्युनिष्ट होस् होस् । जागिर पाउने आशा छाडेर अरू व्यवहारमा लाग् ।”
केही उपाय नलगेपछि मलाई सिफारिश गर्ने लोकसेवा आयोग पुगेँ र गुनासो गरेँ । त्यहाँ पनि औपचारिक जवाफ पाएँ, “हाम्रो काम उम्मेदवार सिफारिश गर्ने मात्र हो, नियुक्ति दिनु नदिनु श्री ५ सरकारको कुरा हो । तर, हाम्रो वार्षिक प्रतिवेदनमा भने यो कुरा उल्लेख गर्छौँ ।”
त्यसबेलाका सारा शक्तिकेन्द्रहरूमा गुहार माग्दामाग्दा थाकेँ । जागिरसागिरको मोह छोडेर भोजपुरको कुलुङ्गमा नै मास्टरी खान जाऊँ कि भन्ने सोचेँ । बाउन्न ताल, त्रिपन्न घुस्सा खाएर फेरि नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका तत्कालीन कुलपति ‘व्यथित’ज्यूको शरणमा पुगेँ ।
उहाँले प्रज्ञा–प्रतिष्ठानको शाखा अधिकृतमा राखिदिनुभयो । श्री ५ को सरकारमा जागिर खाने कुरा एउटा सपना थियो, टुङ्गियो भन्ने लाग्यो । त्यही बेला मनमा सोचेँ, ‘पञ्चायती व्यवस्था क्रूर तानाशाही व्यवस्था रहेछ । यसको एक दिन अन्त्य हुन्छ हुन्छ ।’
श्री ५ को सरकारको जागिर नपाउनु, चित्त बुझाउनु र फेरि जागिरमा प्रवेश गर्नु मेरो जीवनको दोस्रो मोड वा घुम्ती थियो । काठमाडौंका गल्लीहरूमा म निरुद्देश्य घुम्थेँ । रत्नपार्कतिर अल्मलिन्थेँ र सोच्थेँ, ‘म काठमाडौंमा कसरी टिकेर बस्छु होला ! कसरी चार–चारजना छोराछोरीको लालनपालन र शिक्षा दिन सक्छु होला !’
एक दिन अचानक तत्कालीन मुख्यसचिव कृष्णबम मल्लको फोन आयो । भेट्न गएपछि भन्नुभयो, “तपाईंजस्तो मान्छे देशलाई चाहिन्छ । एकेडेमीमा भोलि पनि जान सक्नुहुन्छ, अहिले श्री ५ सरकारको जागिर खानुहोस् । तपाईंलाई सामान्य प्रशासन मन्त्रालयमा पोष्टिङ्ग गरिदिएको छु ।”
म दोधारमा थिएँ, निरंकुश पञ्चायतमा जागिर खान जाऊँ कि नजाऊँ । तर, मैले जाने नै निर्णय गरेँ र पूरा २५ वर्ष जागिरमा बिताएँ । पछि थाहा पाएँ, तत्कालीन मुख्यसचिव कृष्णबम मल्लले मलाई खालि साहित्यकार हो, कथाकार हो भनेर माया गर्नुभएको रहेछ ।
“त्यो परशुले बेकारमा दुःख पायो, त्यो राम्रो कथाकार हो” भनेर कविवर नीरविक्रम ‘प्यासी’ले मल्लज्यूलाई सुनाइदिनुभएको रहेछ । अहिले दुवै यस संसारमा छैनन् ।
जागिरको २५ वर्ष धेरै महत्त्वपूर्ण पदहरूमा बसेँ संसार घुमेँ । धेरै मन्त्रालय चहारेँ । धेरै जिल्लामा पुगेँ । सूचना विभागको निर्देशकमा रहँदा पञ्चायतको पक्षमा थुप्रै पुस्तक र लेखहरू लेखाएँ । धेरै पत्रपत्रिकालाई पञ्चायतको प्रवाहमा मोडेँ ।
प्रमुख जिल्ला अधिकारी भएर ‘ऐतिहासिक जनमत’ गराएँ । राजारानी र राष्ट्रलाई अगाडि राखेर काम गरेँ । सधैँ नूनको सोझो चिताएँ, माथिको निर्देशनअनुसार काम गरेँ ।
२५ वर्षको जागिर जीवनको लामो कथा वा उपन्यास हुनसक्छ । कति लेखेँ, कति लेख्न बाँकी छ । कति कुरा मेरो मानसभित्र निदाएर बसेका छन्, कुनै दिन ती ब्यूँझलान् ।
अब जीवनको तेस्रो घुम्ती बाँकी छ । यो निर्णायक मोड रह्यो, आखिरी घुम्ती जागिरबाट मुक्ति र स्वतन्त्र लेखनको प्रारम्भ ।
२०३५ सालमा खुल्लाबाट राजपत्राङ्कित दोस्रो श्रेणीमा पुगेको थिएँ । बीचमा धेरै जिम्मेवार पदहरूमा पुगी इमान्दारपूर्वक काम गरेँ । २०४६ सालको जनआन्दोलनपछि बल्लतल्ल राजपत्राङ्कित प्रथम श्रेणीको बढुवा खुल्दा म ढुक्क थिएँ, मेरो पदोन्नति अवश्य हुन्छ ।
१८–१८ वर्ष द्वितीय श्रेणीमा बसेको मात्र होइन, निजामती सेवा नियमावलीअनुसार आफ्नो सारा योग्यता नम्बर पनि पुगेको थियो । बाँकी थियो, बोर्डले दिने खालि दस नम्बर । जागिरको त्यो अन्तिम (?) विन्दुमा म लोकसेवा आयोगमा थिएँ । बोर्डमा मैले चिनेका दुई गलत व्यक्तिहरू थिए र एकजना पूर्वेली भनेपछि देखिनसक्ने व्यक्ति थिए ।
म तीनैजनाको नाम अहिले लेख्तिनँ । सबैजना जागिर गएर मजस्तै थन्केका छन् । तिनले षड्यन्त्र गरेर मलाई प्रथम श्रेणीमा कुनै हालतमा उक्लन नदिने सल्लाह गरेछन् । वास्तवमा म तिनको प्रतिद्वन्द्वी पनि थिइनँ, सचिव हुने तिनको बाटोको रोडा पनि थिइनँ ।
तर, म तिनको जातिको थिइन–पूर्वको एउटा पाखे नेवार थिएँ । कुनै राजनीतिक व्यक्तिसँग सम्बन्ध नभएकाले सोर्सफोर्स जिरो भएको । तिनले जानीजानी मेरो वृत्तिविकासको, जागिरे जीवनको हत्या गर्न चाहे । मलाई एक नम्बर कम दिएर बढुवा सूचीबाट हटाएर तिनले सन्तोषको सास फेरे ।
मभन्दा धेरै जुनियरहरू, अयोग्यहरू, मेरा सहायकहरूको पदोन्नति हुँदा मेरोसामु अब एउटा मात्र विकल्प थियो–जागिरबाट राजीनामा दिनु । मसँग अरू धेरै वर्ष पर्खने धैर्य थिएन । मसँग उमेर धेरै बाँकी नै थियो ।
तैपनि, मैले एक दिन निर्णय लिएँ– यो जागिर एक खान्नँ, दुई खान्नँ, तीन खान्नँ । नेवार हुँ, बरु, सडकमा पसल थापेर बस्छु । लेखक हुँ, बरु धेरैथोरै लेखेर खान्छु । तर, यो अपमानको जागिर खान्नँ । आफ्नो पेन्सनभन्दा ५–७ सय बढी रुपैयाँ र बनावटी नमस्कारका लागि यो बन्धनभित्र, यो खुला झ्यालखानाभित्र म बस्तिनँ ।
मैले राजीनामा दिएँ । लगत्तै स्वीकृत भयो । सबैको अनुहारमा पाएँ, ‘कुचोले बढार्नु पर्ने कसिङ्गर हावाले उडाएर लग्यो’ । संयोग पर्यो, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सरकार सत्तामा भएको ।
संयोग पर्यो, मेरो कुनै दिनको चेलो र लेखक तथा एमालेका वरिष्ठ नेता प्रदीप नेपाल सञ्चारमन्त्री भएको । संयोग पर्यो, सञ्चार मन्त्रालयको उपसचिवबाट राजीनामा दिनु परेको । कम्युनिष्ट भनेर बात लगाई झण्डै जागिरै खान नपाएको परशु प्रधानले कम्युनिष्टकै राजमा स्वेच्छाले जागिर छाडी मुक्ति लिएको ।
यो मुक्तिको मोड थियो । स्वतन्त्रता र निर्बन्धको घुम्ती थियो । प्रसिद्ध गीतकार कालीप्रसाद रिजाललाई सचिव दिइएन । डा. गजेन्द्रमणि प्रधानलाई कानुनको सचिव दिइएन । तर, हामीलाई सचिव वा सहसचिव बनाउन नचाहने ढुङ्गे सत्ताधारीहरूलाई इतिहासले कहिल्यै खोज्ने छैन ।
तिनका सन्तानले धनसम्पत्तिको गर्व गर्न सक्लान्, परन्तु विद्वत्ताको सक्तैनन् । कालीप्रसाद रिजाललाई भोलिको पुस्ताले सहसचिव भनेर चिन्ने छैन, बरु ठूला गीतकार वा कविका रूपमा चिन्ने छ । त्यस रूपमा उनी अरू सय वर्ष पक्कै बाँच्छन् ।
म पनि नेपाली कथा–साहित्यको इतिहासमा कहीँ कतै बाँच्छु । म जागिरे परशु प्रधान भएर आफूलाई चिनाउन पनि चाहन्नँ । म कथाकार भएर स्वतन्त्र रूपमा बाँच्न चाहन्थेँ । चाहन्छु र मर्न चाहन्छु ।
यही तेस्रो र अन्तिम मोड मेरा लागि निर्णायक भयो । म खुला छु स्वतन्त्र चरोजस्तो छु । म उड्छु, उडिरहन्छु, कावा खाइरहन्छु । मलाई यही मुक्ति प्रिय छ । यही स्वतन्त्र लेखन प्रिय छ ।
मलाई कुनै ठूलो नोकरशाह हुनु छैन । म यौटा गरीब र विपन्न देशको सिर्जनशील लेखकका रूपमा रहन चाहन्छु, बाँच्न चाहन्छु । भोलि के हुन्छ ? कसलाई थाहा !
(आख्यानकार परशु प्रधानको संस्मरणात्मक कृति ‘जिन्दगीका मोडहरू’बाट ।)