काठमाडौं । पछिल्लो साता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विवादमा मुछिएका छन् ।
आगामी आर्थिक वर्ष २०७९–८० को बजेटमा विशेषगरी ई–स्पोर्टस आयोजना गर्नका लागि छुट्याइएको भनिएको एक करोड रुपैयाँले बालेनलाई विवादमा तानेको छ । सामाजिक सञ्जाल यसै विषयमा तातिएको छ ।
बालेन नेतृत्वको महानगरले असार ५ गते घोषणा गरेको बजेट भाषणमा ‘खेलकुद सम्बन्धी नीति’ को अन्तिम बुँदामा ‘ई–स्पोर्टस् प्रबर्धनका लागि निश्चित स्थानमा आवश्यक संरचना निर्माण गरी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिनेछ,’ भनेर लेखिएको छ ।
त्यसपछि सार्वजनिक भएको बुँँदा शीर्षकको बजेटमा सामाजिक विकास विभाग अन्तर्गत ई–स्पोर्टस् प्रतियोगिता आयोजना गर्नका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको हो ।
र्यापर यम बुद्धको सालिक बनाउन महानगरले १५ लाख विनियोजन गरेको विवादमा तानिएका बालेनमाथि उल्लेखित बुँदाले थप विवादमा तानेको छ ।
जसको कारण बनेको छ रुटिन अफ नेपाल बन्द र यसका सञ्चालक भिक्टर पौडेल । भिक्टरले स्थानीय तहको निर्वाचनमा बालेन जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए र भिक्टर ई–स्पोर्टस्सँग पनि जोडिएका छन् ।
भिक्टरको ई–स्पोर्टस् खेल्ने आफ्नै टिम ‘डीआरएस’ नामक टिम छ । डीआरएस (द रियल सोल्जर) पबजी टिम हो ।
भिक्टरको टिम डीआरएसले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । त्यसकारण महानगरले छुट्याएको बजेटसँग भिक्टरको नाम जोडिएसँगै बालेनलाई विवादमा तानिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले पनि बालेनलाई लक्षित गर्दै ‘चुनाव जित्न रुटिन अफ नेपाल बन्दलाई कति पैसा दिएर हायर गरेको हो ?’ भनी प्रश्न गरेकी थिइन् । त्यसपछि बालेनले आफ्नो चुनाव अभियानमा कुल ३ लाख ९४ हजार ४८९ रुपैयाँ चुनावी खर्च विवरण सार्वजनिक गरेका थिए ।
चुनावी प्रचारप्रसारदेखि मेयर बन्ने बेलासम्म रुटिन अफ नेपाल बन्दले बालेनलाई प्रत्यक्ष सहयोग गरेको थियो ।
महानगरले ई–स्पोर्टस् प्रतियोगिता आयोजनाबाहेक खेलकुदस्थल स्थापना तथा व्यवस्थानका लागि ३ करोड ५० लाख र महानगर खेलकुद प्रतियोगिता आयोजनाका लागि ४० लाख बजेट विनियोजन गरेको छ ।
आरोपबारे के भन्छ महानगर ?
महानगर उच्च स्रोतका अनुसार १ करोड बजेट विनियोजन गरिए पनि सीधै रुटिन अफ नेपाल बन्दलाई दिन मिल्दैन ।
“प्रतियोगिता आयोजना गर्नका लागि भनेर बजेट विनियोजन गरिएको हो । विभिन्न विधामा प्रतियोगिता हुने हो । त्यो रकम त्यसै एउटा संस्थालाई दिन मिल्दैन । टेन्डर प्रक्रियामा जानुपर्छ । अनुदान कार्यविधि अनुसार सीधै अनुदान पनि दिन मिल्दैन,” स्रोतले भन्यो ।
रुटिन अफ नेपाल बन्दको स्पष्टीकरण
रुटिन अफ नेपाल बन्दले एक विज्ञप्ति जारी गर्दै आफूहरुलाई महानगरले बजेट नछुट्याएको स्पष्ट पारेको छ ।
“हामी एक मात्र ई–स्पोर्ट्स कम्पनी भन्ने दाबी गरेर काठमाडौँ महानगरले हाम्रो लागि १ करोड बजेट छुट्याएको भनिएको छ । सर्वप्रथम, रुटिन अफ नेपाल बन्द कुनै इ–स्पोर्ट्स कम्पनी होइन । यो संस्था कार्यक्रम आयोजना गर्ने कम्पनी पनि होइन । हाम्रो संस्था प्रेस काउन्सिलमा दर्ता भएको मिडिया हो । तथ्यका आधारमा भन्ने हो भने नेपालमा ई–स्पोर्ट्स खेलाउने, खेल्ने प्रयोजनका लागि दर्ता भएका कम्पनी धेरै छन् । साथै ई–स्पोर्टसको समूहमा पब्जीमात्रै पर्ने पनि होइन । बिना अनुसन्धान कुनै व्यक्ति÷कम्पनीको नाम लिएर झुटो आधारमा समाचार बनाएकोमा हाम्रो गम्भीर आपत्ति छ । त्यस्तो कार्यप्रति हाम्रो संस्था खेद प्रकट गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।
के हो ई–स्पोर्टस्
ई–स्पोर्टस इलेक्ट्रोनिक माध्यमबाट खेलिने खेल हो । यस खेलमा कम्युटर, मोबाइल, ल्यापटप, प्ले स्टेसनलगायतका साधन प्रयोग गर्न सकिन्छ । भिडियो गेममार्फत टिममा र एकल रुपमा पनि प्रतिस्पर्धा गर्न सकिन्छ ।
पछिल्लो समय यसमा सहभागी हुनेहरुको जमात ठूलो छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले पनि अक्टोबर २०१७ मा ई–स्पोर्ट्सलाई मान्यता दिएको छ । नेपालले पनि दक्षिण एसियन गेम्स, एसियन गेम्स र वर्ल्ड च्याम्पियनसिप छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएको छ ।
नेपालमा यसको आधिकारिक संस्था छ ?
नेपालमा पनि ई–स्पोर्ट्स खेलको आधिकारिक निकाय छ । नेपाल ई–स्पोर्ट्स एसोसिएन (नेसा) यस खेलको नेपालमा आधिकारिक संस्था हो ।
सुरज डंगोल नेसाका अध्यक्ष हुन् । २०१६ मा नेसाको स्थापना भएको थियो । त्यही वर्ष नेसाले नेपाल ओलम्पिक कमिटीमा पनि आफुलाई दर्ता गराइसकेको छ । राष्ट्रिय खेलकुद परिषद्मा भने यो दर्ताको प्रक्रियामा रहेको अध्यक्ष डंगोल बताउँछन् ।
नेपालको अन्तर्राष्ट्रिय सहभागिता
नेसाले २०१८ मा भियतनाममा सम्पन्न एसियन गेम्समा प्रदर्शनी खेलका लागि नेपालको टिम पठाएको थियो ।
त्यस्तै २०१९ मा ताइवान, २०२० मा दक्षिण कोरिया,२०२१ मा इजराइलमा सम्पन्न वल्र्ड च्याम्पियनसिपमा पनि नेपालले सहभागिता जनाएको थियो ।
अब इन्डोनेसियाको बालीमा हुने प्रतियोगिताको लागि पनि नेसाले छनोट प्रतियोगिता सम्पन्न गरेको छ । नेसाका अध्यक्ष डंगोलका अनुसार नेपाली टिमले अब साउथ एसियन गेम्समा प्रतिस्पर्धा गरेर बालीमा प्रतिस्पर्धा गर्नेछ ।
रुटिन अफ नेपाल बन्दलाई एक करोड छुट्याइएको भन्ने विवादबारे के भन्छन् अध्यक्ष डंगोल ?
नेसाका अध्यक्ष डंगोलले बालेनको चुनावमा रुटिन अफ नेपाल बन्दसँगै भिक्टर सक्रिय रुपमा लागेका कारण उनीहरुलाई नै टार्गेट गरिएको हुनसक्ने बताए ।
“अहिले भिक्टरसँग नाम जोडिएर धेरै चर्चा भएको छ । उहाँहरु बालेनको चुनावमा पनि सक्रिय रुपमा लाग्नु भएको हुनाले उहाँहरुलाई टार्गेट गरिएको हुनसक्छ । तर, मेरो विचारमा मेयर सा’ब नयाँ पुस्ताको हुनुहुन्छ,” उनले भने, “भारत, चीन र युरोपलगायतका देशले यस खेलमार्फत् थुप्रै फाइदा लिइरहेको छ । अहिले नेपालमा पनि यसको खेलको आकर्षण बढ्दो छ । त्यसकारण यसमा सम्भावना देखेर बजेट छुट्याइएको हो भन्ने लाग्छ ।”
बजेटको सन्दर्भमा आफ्नोे टिमसँग पनि छलफल भएको अध्यक्ष डंगोल बताउँछन् । “भिक्टरजी आफैँको पनि एउटा टिम छ । उहाँले त्यो टिमलाई प्रमोट गर्नु हुन्छ । उहाँले पनि आफ्नोतर्फबाट पहल गर्नुभयो होला,” उनले भने, “त्यो आफ्नो ठाँउमा छ । तर, अब त्यो छुट्याइएको रकम चाँहिँ भौतिक पूर्वाधारमा खर्च गर्न पाइयो भने राम्रो हुन्छ ।”
नेसाबाहेक नेपालमा अरु कसले ई–स्पोर्ट्स प्रतियोगिता आयोजना गर्छ ?
नेपाल इ–स्पोर्टस् एसोसिएसनका अध्यक्ष डंगोलका अनुसार नेसा बाहेक पनि नेपालमा विभिन्न कम्युनिटीहरुले विभिन्न प्रतियोगिताहरु आयोजना गरिरहेका छन् ।
पछिल्लो समय आईटी कलेजहरुले यसको आयोजना गर्न थालेका छन् । ब्रिटिस कलेज, एपेक्स कलेजले पनि आयोजना गर्छन् ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान)ले पनि पछिल्ला वर्षहरुमा नियमित अयोजना गर्दै आएका छन् ।