काठमाडौं । नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा छद्म नाममा रहेको भन्दै चर्को आलोचना खेपेका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग भएको छ ।
सत्तारुढ पार्टी नेकपा माओवादी केन्द्रका वरिष्ठ नेताले नै उनको राजीनामा माग गरेका हुन् । राष्ट्रिय सभाको बैठकमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राजीनामा माग गरेका हुन् ।
“विवाद भइसक्यो, अन्योल भयो भनेर उहाँले पदबाट राजीनामा दिनु वेश हुन्छ । विधि र मूल्य लागु हुनुपर्छ,” उनको भनाई थियो, “एम अधिकारी भन्ने व्यक्ति सबैले उहाँ नै हो भनेर भनिरहेका छन् । महाप्रसाद अधिकारी एम अधिकारी त्यही जिल्लाको अर्को को होला त ? उहाँ नै हुनुहोला । नेकपा एमाले वा गभर्नर अधिकारीले त्यसमा विश्वसनीय ढंगले खण्डन गर्नुभएको छैन । गर्न सक्ने स्थिति पनि होला कि नहोला भन्ने गम्भीर सवाल छ ।”
उनले एम अधिकारी भन्ने व्यक्ति भए कागजात निकाल्न पनि चुनौती दिए ।
“होइन भने पुष्टि गर्ने कागजात चाहियो । ०७३ सालको गभर्नर हो, अहिलेको चाहिँ अर्कै हो भन्ने पुष्टि गर्नुपर्यो,” उनले भने ।
उता विवाद चर्किएकै बेला अर्थ मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर अधिकारीलाई बालुवाटार बोलाएका छन् ।
स्रोतले दिएको जानकारीअनुसार देउवाले पछिल्लो अर्थतन्त्रको अवस्थाका बारेमा जानकारी लिएका थिए ।
राजीनामा माग्नुभएको हो ? भन्ने प्रश्नमा बालुवाटार स्रोतले भन्यो, “त्यस्तो होइन, अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।”
गभर्नर अधिकारीले पनि प्रधानमन्त्रीले अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा मात्रै जानकारी लिएको बताएका छन् । बाह्रखरीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
अधिकारीले अहिले आफू कुनै पनि पार्टीमा आवद्ध नभएको बताएका छन् । यो विषयलाई अनावश्यक विवादमा ल्याइएको उनको टिप्पणी छ ।
अधिकारीले पाँच वर्षअघि पनि एमालेले सोही कमिटीमा राखेको विषयमा जानकारी पाएर त्यसबेला नै पत्र पठाएको बताएका छन् ।
गभर्नर अधिकारी र नेकपा एमालेबीच पाँच वर्षअघि नै पत्र आदानप्रदान भएको पाइएको छ ।
अहिले नेकपा एमालेको सोही विभागको सदस्यमा छद्म नाममा एम अधिकारी राखेर सदस्य रहेको भन्दै चर्को आलोचना खेपेका अधिकारीले नेकपा एमालेलाई पाँच वर्ष अघि नै पत्र लेखेर सो पार्टीमा आवद्ध नरहेको बताएको पाइएको छ ।
अधिकारीले नेकपा एमालेका सचिवलाई पत्र लेख्दै पाँचवर्ष अघि नै आफू कुनै पनि दलको सदस्य नरहेको र हाल त्यस्तो सदस्यता लिने मनसाय पनि नरहेकाले उक्त नाम हटाई दिन अनुरोध गरेको उल्लेख गरेका छन् ।
“हालसालैका केही सञ्चारमाध्यमले मेरो वा मसँग मिल्दोजुल्दो नाम नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्सवादी लेनिनवादी, अर्थ तथा योजना विभागको सदस्यको रुपमा मनोनयन भएको भन्ने समाचार प्रकाशन गरेकाले यस विषयप्रति मेरो ध्यानाकर्षण भएको व्यहोरा अनुरोध गर्दछु । यद्यपि औपचारिक माध्यमबाट यस सम्बन्धमा मलाई कुनै जानकारी प्राप्त नभएकाले उक्त नाम मेरो नभई अन्य कुनै व्यक्तिको हुन सक्छ । कथम् कदाचित उक्त नाम मसँग सम्बन्धित रहेको भए म कुनै पनि राजनैनिक दलको सदस्य नरहेको र हाल त्यस्तो सदस्यता लिने मनसायसमेत नरहेकाले उक्त नाम हटाईदिन हुन हार्दिक अनुरोध गर्दछु,” महाप्रसाद अधिकारीले नेकपा एमालेलाई लेखेको पत्रमा उल्लेख छ ।
त्यस्तैगरी नेकपा एमालेका सचिव कृष्णगोपाल श्रेष्ठले महाप्रसाद अधिकारीलाई त्यसबेला पत्र लेख्दै सदस्यता सम्बन्धमा स्पष्ट पारेका छन् ।
“तपाईंको मिति २०७३–०२–२५ को पत्रको सन्दर्भमा लेख्दैछु । तपाईंले आफू पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागको सदस्य नरहेको भनि दिनुभएको पत्रका आधारमा पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागका सदस्यहरुको नाम रुजु गर्दा उक्त नाम भुलवस पर्न गएको र सो नाम अन्तिम नामावलीमा नरहेको हुँदा तपाईंको यस विभागसँग कुनै सम्बन्ध नरहेको व्यहोरा अवगत गराउन चाहन्छु,” श्रेष्ठले लेखेको पत्रमा भनिएको छ ।