काठमाडौं । इङ्ल्यान्डका फरवार्ड रहिम स्टर्लिङले इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीसँगको अनुबन्ध प्रक्रिया पूरा गरेका छन् । म्यानचेस्टर सिटीका फरवार्ड स्टर्लिङ ५ करोड पाउण्डमा चेल्सीसँग अनुबन्ध भएका हुन् ।
सम्झैताअनुसार २७ वर्षीय स्टर्लिङ अब स्ट्यामफोर्ड ब्रिजमा पाँच वर्षसम्म रहनेछन् । सिटीले सन् २०१५ मा स्टर्लिङलाई लिभरपुलबाट ४ करोड ९० लाख पाउण्डमा अनुबन्ध गरेको थियो । स्टर्लिङले सिटीबाट ३३९ खेलमा १३१ गोल गर्दै चार प्रिमियर लिग उपाधि जितेका थिए । स्टर्लिङले इङ्ल्यान्डले ७७ खेल खेलिसकेका छन् । चेल्सीका प्रशिक्षक थोमस टुचेलले टोड बोहलीले क्लबको स्वामित्व लिएपछि पहिलो खेलाडी अनुबन्धका रुपमा स्टर्लिङलाई अनुबन्ध गरेको हो ।
यसैबीच, चेल्सीले नापोलीका रक्षक कालिडो कोउलिबाली र सिटीकै सेन्टर ब्याक नाथन एकेलाई अनुबन्ध गर्ने तयारी गरिरहेको छ ।
“मैले करिअरमा अहिलेसम्म धेरै उपलब्धि हासिल गरेको छु । तर, अझै धेरै हासिल गर्न बाँकी छ । म टुचेलको प्रशिक्षणमा चेल्सीको जर्सी लगाएर अझै धेरै उपाधि जित्न चाहन्छु,’’ स्टर्लिङले भने, ‘‘लन्डन मेरो घर हो । जहाँ मेरो फुटबल करिअर सुरु भयो । अब मलाई स्ट्यामफोर्ड ब्रिजमा साथीहरू र परिवारका अगाडि खेल्ने मौका छ । जुन अद्भूत हुनेछ । म त्यहाँ चाँडै प्रशंसकहरूलाई भेट्न उत्सुक छु ।’’