काठमाडौं । डेनियल भान डे डोन्कको निर्णायक गोलमा नेदरल्यान्ड्सले बुधबार राति पोर्चुगललाई ३–२ ले पराजित गरेको छ । जितसँगै नेदरल्यान्ड्स युरो २०२२ मा समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ ।
साविक विजेता नेदरल्यान्ड्सले सातौं मिनेटमा दामारिस एगुरोलाले हेडमार्फत गरेको गोलबाट अग्रता लिएको हो । एगुरोलाले शेरिडा स्पिटसेको कर्नर पासलाई हेडरमार्फत पोष्टको दिशा दिएका थिए । स्टेफनी भान डर ग्राग्टले १६औं मिनेटमा हेडमार्फत नै अर्को गोल गर्दै अग्रता दोब्बर बनाइन् ।
स्विट्जरल्यान्डसँग पहिलो खेलमा २–२ को बराबरीमा रोकिएको पोर्चुगलले क्यारोल कोष्टाको गोलबाट पुनरागमन गर्यो । पोर्चुगलकी डिएना सिल्भाले ४७औं मिनेटमा बराबरी गोल फर्काइन् । ६२ मिनेटमा भान डे डोन्कले गरेको गोल नेदरल्यान्ड्सको जितमा निर्णायक बन्यो ।
जितसँगै दुई खेलबाट ४ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा छ । समान ४ अंक जोडेको स्विडेन दोस्रो स्थानमा छ । समान एक अंक जोडेका पोर्चुगल र स्विट्जरल्यान्ड क्रमशः तेस्रो र चौथो स्थानमा छ । स्वीडेनले स्वीट्जरल्यान्डलाई २–१ ले हराएको थियो ।
नेदरल्यान्ड्स र स्विडेनले पहिलो खेलमा १–१ को बराबरी खेलेको थियो । प्रतियोगितामा आज इटालीले बेल्जियम र अष्ट्रियाले नर्वेसँग प्रतिस्पर्धा गर्नेछ ।