काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मन्त्रीहरूले सरकारको एक वर्षको कामको बारेमा जानकारी गराउने कार्यसूची छ ।
आजको बैठकमा पार्टी पदाधिकारीहरूले आ–आफ्नो धारणा राख्नेछन् । पदाधिकारीले धारणा राखेर आजै बैठक सक्ने कांग्रेसको तयारी छ ।
हिजोको बैठकमा गुटको भेला गरेको भन्दै नेता शेखर कोइराला समूहको चर्को आलोचना भएको थियाे । बुधबार ४८ जना केन्द्रीय सदस्यले बोलेको बैठकमा अधिकांशले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरेका थिए ।
उनीहरूले महामन्त्रीद्वय सामाजिक सञ्जाल र मिडियामा गएर पार्टी नेतृत्व र सरकारको चर्को आलोचना गर्ने तर पार्टीको बैठकमा मौन प्राय रहने भन्दै आलोचना गरेका थिए ।
सभापति शेरबहादुर देउवासहित उनी पक्षका केन्द्रीय सदस्यहरूले शेखर समूहको गुटको भेला केन्द्रीय कार्यालयमै गर्न दिन व्यंग्य गरेका थिए ।