काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कांग्रेस सत्तामा पुगेपछि केपी ओली प्रवृत्तिमा अघि बढेको बताएका छन् । बुधबारको केन्द्रीय समिति बैठकमा शिवाकोटीले प्रतिपक्षमा हुँदा र सरकारमा हुँदा कांग्रेसको फरक शैली देखिएको बताए ।
उनले कांग्रेसको दोहोरो प्रवृत्तिलाई जनताले नियालिरहेको पनि बताए ।
"हामी वचनका पक्का छौँ कि छैनौँ भन्ने पनि जनताले हेरिरहेका मात्र छैनन् प्रतिक्रिया जनाउन थालेका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा हाम्रो मौनता, अधिनायक बन्ने सोचका साथ तत्कालीन केपी ओलीले प्रधानमन्त्री मातहत विभाग र निकायहरू लैजाँदा हामीले विरोध गरेको बिर्सेर हामी अहिले त्यसैमा रमाएर अरूले विरोध गर्ने ठाउँमा आइपुग्नु पक्कै पनि सुखद होइन । जनता सबै हेरिरहेका छन् मौका पर्दा यसको ब्याजसमेत असुल्न सक्छन भन्ने कुरा हामीले ख्याल गर्नुपर्छ," उनले बैठकमा भनेका थिए ।
शिवाकोटीले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मोलमोलाइ गर्दै गरेको अडियो सार्वजनिक भएपछि राजीनामा गर्न बाध्य भएको भन्दै त्यसको पृष्ठभूमिमा रहेका बिचौलिया र एजेन्टहरूलाई कांग्रेस नेतृत्वको सरकारले पुरस्कृत गरिरहेको धारणाा राखे ।
"उनीहरू नै सरकारका निर्णय प्रक्रियाहरूलाई समेत प्रभावित पार्ने हैसियतमा प्रकट हुनु हाम्रो पार्टी र पार्टी प्रमुखको नेतृत्वमा रहेको सरकारलाई सुहाउने विषय होइन । विगतमा हामीले उठाइरहेका यी र यस्ता विषयका सन्दर्भमा चुनावी मैदानमा नागरिकले उल्टै हामीलाई प्रश्न गर्दा जवाफ के दिने भन्नेमा पार्टी गम्भीर हुन जरुरी छ," उनले भने ।
चुनावी गठबन्धनको विषयमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनको समीक्षा गर्दै कतिपय आरोप कांग्रेसप्रति लगाएकाे भन्दै उनले गठबन्धनको आगामी यात्रा तय गर्दै गर्दा यस्ता दृष्टान्तलाई ध्यान दिन जरुरी रहेको बताए ।