काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल श्रीलंकाको बाटोमा नजाने दाबी गरेका छन् ।
सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनले उपलब्ध स्रोत–साधनले देशभित्रै विकास गर्न सकिने बताए ।
“अर्थतन्त्र कमजोर छ, तर ढुक्क हुनुहोस्, म दाबी गर्छु– नेपाल श्रीलंकाको बाटोमा जाँदैन,” कांग्रेस केन्द्रीय सदस्य समेत रहेका उनले बैठकमा भने, “हामीलाई पुग्ने स्रोत–साधन छ, देशभित्रै विकास गर्न सकिन्छ ।”
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा ३६४ मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भइसकेको उनले जानकारी दिए ।
भारतसहित बंगलादेशलगायत देशमा १५ हजार मेगावाट विद्युत् बिक्री गर्न सकिने उनले जिकिर गरे । बिजुली बेचेरै महिनामा अर्बौँ कमाउन गाह्रो नभएको उनको भनाइ छ ।
उनले गएको स्थानीय तह निर्वाचनको परिणामले जनताको मनोविज्ञानमा परिवर्तन ल्याएको पनि बताए ।
आन्तरिक एकतालाई बलियो बनाएर कांग्रेसलाई मुलुकको सबैभन्दा ठूलो र भरोसायोग्य पार्टी बनाउनुपर्नेमा उनले जोड दिए । पार्टी सभापति देउवामाथि गर्व गर्नुपर्ने समेत बताए ।
“हामीले हाम्रो सभापतिमाथि गर्व गर्नुपर्ने अवस्था छ । थोरै सिट हुँदाहुँदै सरकारमा मात्र छैनौँ, स्थानीय निर्वाचनबाट मुलुकको ठूलो दल बन्न सफल भएका छौँ,” उनले भने ।