काठमाडौं । नेपाल उद्योग परिसंघले आउँदो आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति उत्पादनमुखी र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी विस्तार गर्ने गरी ल्याउन आग्रह गरेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मंगलबार परिसंघले सुझाव दिँदै विद्यमान आर्थिक अवस्थालाई ध्यानमा राखेर अर्थतन्त्र चलायमान गराउने नीति लिन आग्रह गरेको हो ।
परिसंघले तरलताको राम्रो व्यवस्थापन, विदेशी मुद्रा नेपालमा भित्र्याउने एवं लगानीलाई उत्पादनशील र प्राथमिकता प्राप्त क्षेत्रमा निर्देशित गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको छ ।
आउँदो आर्थिक वर्षमा नेपालको आयात, भुक्तानी सन्तुलन, विदेशी मुद्रा सञ्चितिजस्ता बाह्य क्षेत्रमा सुधार हुने संकेत देखिएकाले समग्र मागमा संकुचन नआउने गरी मौद्रिक नीति ल्याउन परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आग्रह गरे ।
अग्रवालले सेयर लगानीकर्ताको विषयलाई आउँदो मौद्रिक नीतिले सम्बोधन गर्ने विश्वास व्यक्त गरे । उनले सेयर बजारमा ठूला लगानीकर्ता मात्र नभई साना लगानीकर्ता पनि डुब्ने अवस्थालाई रोक्न राष्ट्र बैंकले सहजीकरण गर्न आग्रह गरे ।
परिसंघको सुझाव ग्रहण गर्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले उद्योगलाई सहजीकरण गर्दै आएको भन्दै औद्योगिक उत्पादन बढाउने गरी नीति अवलम्बन गर्ने आश्वासन दिए ।