धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा सहमति नजुट्दा १ बजे डाकिएको प्रदेशसभा बैठक फेरि सरेको छ । बजेटमा सहमति नजुट्दा सुदूरपश्चिम प्रदेश सभाको बैठक पटक–पटक सर्दै आएको छ । आज बुधबार मात्रै दुईपटक प्रदेशको संसद् बैठक सरेको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।
आज बिहान ११ बजे र १ बजे गरी दुईपटक बैठक बोलाइएको थियो । उता सरकार र प्रतिपक्षीबीच सहमतिका लागि मुख्यमन्त्री कार्यालयमा छलफल भइरहेको छ । प्रदेश सरकारको आग्रहमा प्रदेशसभा बैठक सारिएको सुदूरुपश्चिम प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
विपक्षी दलहरू एमाले, जसपा र लोसपा पनि सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै विरोधमा उत्रेका छन् । उनीहरू संसद् बैठकमा समेत उपस्थित नभएर विरोध जनाउँदै आएका छन् । गठबन्धनमा रहेको कांग्रेस पनि बजेटप्रति असन्तुष्ट रहेको प्रदेश सांसद नन्दा बमले जानकारी दिइन् ।
पटक–पटक सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रमुख प्रतिपक्षी दलका सांसदहरूको वार्ता बसे पनि अहिलेसम्म कुनै निष्कर्ष आउन सकेको छैन । मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि बोलाएर अहिले बैठक बसिरहेको छ । बैठकमा प्रतिपक्षी दलहरुले बजेट संशोधनबारे मुख्यमन्त्री भट्टलाई १४ बुँदे सुझावसहितको मागपत्र बुझाएका छन् ।
बजेट पारित गर्ने विषयमा सरकार र प्रतिपक्षबीच वार्ता त्यो बैठक निष्कर्षविहीन भएपछि फेरि बस्न लागेको छ । प्रतिपक्षी दलले सरकारलाई बुझाएको १४ बुँदे सुझावपत्रमा सहमति भए मात्रै संसद संचालन हुन दिने एमालेका प्रमुख सचेतक लीलाधर भट्टले जानकारी दिए ।
असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमाथि सदनमा अहिलेसम्म छलफल हुन सकेको छैन । प्रतिपक्षीमा रहेका एमाले, जसपा र लोसपा बजेट संशोधन नहुँदासम्म छलफल नहुने अडानमा छन् । बैठकमा सरकारको तर्फबाट मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावल र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामी थिए ।
प्रतिपक्षी दलको तर्फबाट एमाले दलका नेता प्रकाश शाह, प्रमुख सचेतक लीलाधर भट्ट र कार्य व्यवस्था परामर्श समितिका सदस्य बलदेव रेग्मी, लोसपाका कृष्ण चौधरी थिए ।