काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीमाथि कुटपिट गरेको आरोप लागेका धनकुटाका सुवास घिसिङ (सुन मुन्द्रे)माथि ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा अनुसन्धान थालिएको छ ।
४८ वर्षीय घिसिङ (सुन मुन्द्रे) लाई मुलुकी अपराध (सहिंता) ऐन, २०७४ को परिच्छेद–१२ को देहाय १८३ को ‘ज्यान मार्ने उद्योग गर्न नहुने’ कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
उनलाई मंगलबार नयाँबस्ती प्रहरी टोलीले पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको छ ।
गोकर्णेश्वर नगरपालिका–५ स्थित एभरेस्ट पेट्रोल पम्प मुनिको वाग्मती नदी किनारमा लामो समयदेखि अनधिकृत रूपमा फोहोर संकलन गर्दै आएका घिसिङले अनुगमनको क्रममा हिँडेका समितिका कर्मचारी बलराम श्रेष्ठलाई कुटपिट गरेका थिए ।