site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कैलालीमा अफ्रिकन स्वाइन फिभरका कारण ३८ बंगुर मरे
फाइल तस्बिर ।

कैलाली । अफ्रिकन स्वाइन फिभरका कारण कैलालीको घोडाघोडीमा ३८ बंगुर मरेका छन् । घोडाघोडी नगरपालिका–९ का कृषक प्रदेशु चौधरीले पालेका बंगुर मरेका हुन् ।

घोडाघोडी नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यले बंगुर मर्न थालेपछि गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको जानकारी दिए । उनका अनुसार, यही पुस १८ गते पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा परीक्षण गर्दा रोग पुष्टि भएको थियो ।

“थप पुष्टि गर्न केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा समेत पठाएका थियौँ । त्यहाँ पीसीआरद्वारा परीक्षण गर्दा सोही रोग नै भएको पुष्टि भएको छ,” आचार्यले भने ।

यो रोगले हालसम्म चौधरीको फार्ममा ३२ पाठापाठी, पाँच माउ र एक भाले बंगुर मरेका हुन् । 

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत जिल्ला अफ्रिकन स्वाइन फिभरको उच्च जोखिममा छन् । ०७९ कात्तिकमा सुदूरपश्चिममा पहिलोपटक कैलालीको भजनीका कृषक जय बुढाको बंगुर फार्ममा यो रोग देखा परेको थियो । त्यति बेला बुढाले पालेका ४८२ बंगुर मरेका थिए । त्यसपछि कैलाली, कञ्चनपुरलगायत जिल्लामा यो रोग देखा परिरहेको छ ।

अफ्रिकन स्वाइन फिभर बंगुर/सुँगुर र बँदेलहरूमा भाइरसबाट लाग्ने महामारी रोग भएको बताइएको छ । संक्रमित हुने बंगुर/सुँगुर तथा बँदेल प्रजातिमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म ज्वरो आउने गरेको पशुचिकित्सकले बताएका छन् । त्यसबाहेक कान, पुच्छर र पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, छेर्ने, लड्खडाउने, तुहिने र ज्यानै जाने अवस्था आउने गरेको पशु स्वास्थ्य प्राविधिक आचार्यले बताए ।

रोगी बंगुसँगको संसर्ग र तिनको ओसारपसारमा प्रयोग हुने वस्तुमार्फत पनि यो रोग सर्ने गरेको उनले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  २२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro