धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रमुख प्रतिपक्षी दल असन्तुष्ट हुँदा पटक–पटक डाकेको प्रदेशसभाको बैठक बस्न सकेको छैन । आज ११ बजेका लागि डाकिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बजेटबारे छलफल गर्न बोलाइएको बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सुदूरपश्चिम प्रदेशसभा सचिवालयले जनाएको छ ।
विपक्षी दलहरू नेकपा (एमाले), जसपा र लोसपा पनि सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै विरोधमा उत्रेका छन् । उनीहरू संसद् बैठकमा समेत उपस्थित नभएर विरोध जनाउँदै आएका छन् । गठबन्धनमा रहेको कांग्रेस पनि बजेटप्रति असन्तुष्ट रहेको प्रदेश संसद् नन्दा बलले जानकारी दिइन् ।
सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रमुख प्रतिपक्षी दलका सांसदहरूबीच पटक–पटक वार्ता भए पनि अहिलेसम्म कुनै निष्कर्ष आउन सकेको छैन । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिपक्षीहरू नेकपा (एमाले), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि बोलाएर अहिले बैठक बसिरहेको छ ।
बैठकमा प्रतिपक्षी दलहरूले बजेट संशोधनबारे मुख्यमन्त्री भट्टलाई १४ बुँदे सुझावसहितको मागपत्र बुझाएका छन् । बजेट पारित गर्ने विषयमा सरकार र प्रतिपक्षबीच वार्ता त्यो बैठक निष्कर्षविहीन भएपछि फेरि बस्न लागेको छ । प्रतिपक्षी दलले सरकारलाई बुझाएको १४ बुँदे सुझावपत्रमा सहमति भए मात्रै संसद् सञ्चालन हुन दिने एमालेका प्रमुख सचेतक लीलाधर भट्टले जानकारी दिए ।
असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमाथि सदनमा अहिलेसम्म छलफल हुन सकेको छैन । प्रतिपक्षीमा रहेका एमाले, जसपा र लोसपा बजेट संशोधन नहुँदासम्म छलफल नहुने अडानमा छन् । आज ८ बजे मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिपक्षी दललाई संवादका लागि बोलाएको बैठक पनि निष्कर्षमा पुग्न सकेको छैन ।
अहिले फेरि बैठक चलिरहेको छ । बैठकमा सरकारको तर्फबाट मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावल र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मनबहादुर धामी रहेका छन् । यस्तै, प्रतिपक्षी दल एमालेका नेता प्रकाश शाह, प्रमुख सचेतक लीलाधर भट्ट, कार्य व्यवस्था परामर्श समितिका सदस्य बलदेव रेग्मी र लोसपाका कृष्ण चौधरी रहेका छन् ।