काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले)को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरेकी छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद शर्माले मुलुकको गभर्नर कुनै पार्टीको विभागको सदस्य हुन नपाउने व्यवस्था रहेको भन्दै उक्त विषयमा छानबिन हुनुपर्ने बताइन् ।
कुनै पनि दलमा आबद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लंघन भएको उनको भनाइ छ ।
सांसद शर्माले छानबिन गरेर नियुक्त गर्ने र नियुक्ति पाउने दुवै पक्षलाई कारबाही गर्न माग गरिन् । मुलुकको अर्थतन्त्रलाई नियोजित ढंगले नै बिगार्न खोजिएको आरोप उनले लगाइन् ।
विशेष समयमै नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले राष्ट्र बैंकका गभर्नर अधिकारीले सेयर लगानीकर्तालाई हतोत्साही र नागरिकलाई निराश बनाउने गरी सार्वजनिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए । रियल स्टेट कारोबारीलाई निषेध गर्ने, निजी क्षेत्रलाई हतोत्साहित गर्ने, सेयर बजारमा लगानीलाई हतोत्साहित गर्ने काम भइरहेको र यो बन्द हुनुपर्ने उनले बताए ।
बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसद खगराज अधिकारीले ग्लोबल बोलपत्रबिना हतारहतारमा नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाए ।
उनले आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर सामान ल्याउन लागिएको आरोप पनि लगाए । ती सामान खरिद गर्नुपर्ने आवश्यकता पुष्टि गरी सदनलाई जानकारी गराउन माग गरे ।
बैठकमा एमाले सांसद शिवमाया तुम्बाहाङ्फेले आफैँले गैरसंवैधानिक भनिएको संवैधानिक परिषद्सम्बन्धी विधेयक सरकारले ल्याउन खोजेको भन्दै तत्काल फिर्ता लिन माग गरिन् ।