काठमाडौं । सुनसरी र गोरखामा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।
सुनसरीको रामधुनी नगरपालिका–२ मा गए राति मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री स्थानीय ६० वर्षीया रुकमी सरदार रहेकी छन् । गम्भीर घाइते भएकी सरदारको उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि इटहरीस्थित बेदान्त अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
गोरखाको गोरखा नगरपालिका–५, पश्चिमकालीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
पश्लाङका अन्दाजी २७ वर्षीय प्रदीप थापाको उपचारको क्रममा जिल्ला अस्पताल गोरखामा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा पछाडि सवार गोरखा–७, सतिपिपलका २९ वर्षीय सुरज गुरुङ र सोही स्थानका १३ वर्षीय चन्द्र गुरुङको उपचार भइरहेको छ ।