काठमाडौं । निर्वाचन आयोगले काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि अनलाइनबाट मतदाता नामावली संकलन सुरु गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजदेखि अनलाइनमार्फत फारम भर्न सकिने बताएका छन् ।
“काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरबाट यही मिति २०७९ असार २९ गतेदेखि सुरु गर्नेगरी आयोगले मिति २०७९।३।२८ मा निर्णय गरेको छ । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइट www.election.gov.np मा गई व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालय हाललाई काठमाडौं उपत्यकाका तीन जिल्लामा अनलाइनबाटै पेस गर्न सकिने छ,” विज्ञप्तिमा भनिएको छ, “अनलाइन फाराममा उल्लिखित संकेत नं. सहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न जानु पर्नेछ ।”